सडक निर्माणसँगै बस्ती खतरामा

नगरपालिकाले सडक स्तरोन्नतिमा ध्यान नपुरायाउँदा खोटाङको एउटा बस्ती नै खतरामा पर्ने भएको छ । सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्र जोडने सडक मर्मतका क्रममा रुपाकोट–मझुवागढी नगरपालिका–२ अल्छेढुंगास्थित चेर्पा बस्ती वर्षायाममा जोखिममा पर्ने भएको हो ।
रुपाकोट–मझुवागढी नगरपालिका दिक्तेलले खोलामा कजवे ढलान गर्दा ह्युमपाइप नराखी आरसीसी गेकाले वर्षायाममा गाउँभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षति हुने भन्दै स्थानीय आक्रोशित भएका छन् । नगरपालिकाले सडक मर्मत गरे पनि काम प्रभावकारी देखिएको छैन । ढलानका क्रममा कमसल सामग्रीको प्रयोग गरिएको र टालटुलमात्र पारिएको छ ।
नगरपालिकाले सडकमा काम गर्ने वातावरण बनाए पनि नसोची काम गर्दा समस्या आएको स्थानीयको भनाइ छ । ढलान गरिएको उक्त सडकमा पोतिएको सिमेन्ट छुँदा पनि भत्किने गरेको छ । नगरपालिकाको तीन लाख लागतमा अल्छेढुंगाको घुम्तीमा २० मिटर र खोलामा एप्रोस ११ मिटर ढलान गरिएको थियो । खोलाको सडक मर्मत संरचनाले चेर्पा गाउँका अनुमानित २५ घर भलबाढीका कारण विस्थापित हुने स्थानीय प्रकाश मुग्रातीले बताए । उनले भने, “खोलामा दुवै ठाउँमा जाली लगाएर पुल लगाउनु पर्नेमा वारपार ढलान गरेर गाउँलाई जोखिम बनाइएको छ, यस खोलमा वर्षायाममा मुडेदेखिको बाढी आउने भएकाले भलबाढीले बस्ती बगाउने तथा जमिन कटानको जोखिम बढेको छ ।”
अल्छेढुंगाको चप्लेटी ढुंगा र केही अगाडि खोलामा ढुंगाको कजवे बनाउँदा पानीले बर्सेनि भत्काउने गरेकाले दिगोपनका लागि आरसीसी ढलान गर्न भन्दै नगरपालिकाले उक्त सडक मर्मत गर्न बजेट विनियोजन गरे पनि इन्जिनियर र ठेकेदारले ध्यान नपु¥याउँदा समस्या आएको बताइएको छ ।
स्थानीयको विरोधपछि ठेकेदारलाई चेक ड्याम राख्न भनिसकिएको नगरपालिकाका इन्जिनियर केशव गिरिले बताए । उनले भने, “गाउँलेको कुराको सम्बोधन हुन्छ, ग्याभिङ जाली भरेर बस्तीमा भल पस्न कुनै पनि हालतमा दिदैनौं ।” कजवे ढलानमा चेकड्याम राखेपछि मात्रै योजनाको अन्य प्रक्रिया अगाडि बढ्नेछ । मुख्यतः बजेट अभावमा ह्युमपाइप राख्न नसकिएको हो गिरिले भने ।
प्राविधिक स्टिमेटअनुसार काम भयो भएन भनेर वडाबाट सिफारिस दिनेमात्रै काम गरिएको रुपाकोट–मझुवागढी नगरपालिका दिक्तेल २ का वडाध्यक्ष हर्कबहादुर खत्रीले बताए । उनले भने, “वडामा प्राविधिक छैनन् हामी प्राविधिक स्टिमेटको मात्रा जान्दैनौ सिफारिस दिएका छौं त्यसको जिम्मा प्राविधिकले लिन्छ ।” खोलाको हकमा भने स्थानीयको आक्रोश आइरहेको र नगरप्रमुखसँग थप सल्लाह र वैकल्पिक संरचना बनाएरमात्रै सिफारिस दिइने वडाध्यक्ष खत्रीले बताए ।
उत्तम चौलागाईं