तनावै तनावबीच एमसीसी अनुमोदन

भित्र सदन अवरुद्ध अनि बाहिर सडक तनावग्रस्तबीच आइतबार राति ९ बजे संसद्बाट एमसीसी अनुमोदन भएको छ । इतिहासदेखि नै हाम्रो मुलुकमा विभिन्न कालखण्डमा सत्ता परिवर्तनका लागि नेपाली जनताले सडक आन्दोलनबाट नै विजय प्राप्ति गरेको देखिन्छ । जबसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलुकको उच्च ओहदाको व्यक्तिले नै जब जनताको मर्मविपरीत कार्य गर्छन्, राष्ट्रियतासम्बन्धी घात पुग्ने कार्य गर्छन्, तब नेपाली जनताले सडक संघर्षबाट नै विजय प्राप्त गर्छन् । यसको मुख्य संघर्ष नै सडक संघर्ष हो । अहिले हाम्रो मुलुकमा ठीक त्यही भइरहेको अवस्था छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जब मुलुकका लागि राष्ट्रघात छ भनेर हजारौं नेपाली जनता माइतीघर र नयाँ बानेश्वर क्षेत्र दिनहुँजसो विरोध जनाएर आन्दोलन गरिरहेका छन्, आन्दोलन त एउटा सार्थकता मात्रै रहेछ । आखिर सत्तारूढ दलहरूले एमसीसी अनुमोदन गराइछाडे । संसद्मा सरकारविरुद्ध चर्को नाराबाजीबीच एमसीसीको व्याख्यात्मक बहस चलिरहेको थियो । संसद्मा विभिन्न सांसदहरूले बोल्ने क्रममा कसैले एमसीसीको विषयमा आजसम्म पनि राम्ररी बुझेका छैनन् भने कसैले एमसीसी राष्ट्रघाती हो भनेका छन् त कसैले एमसीसी विकास परियोजनाको साझेदार हो, यो मुलुकका लागि हित छ भनेका छन् ।
संसद्मा प्रधानमन्त्री देउवा एमसीसी जसरी भए पनि पास गराइछाड्ने अठोटमा थिए भने यता सत्तासाझेदार दलहरू भने एमसीसीका केही बँुदा संशोधन गरेर मात्र अगाडि बढ्न सक्ने कुरा गर्छन् । तर, प्रतिपक्षमा रहेको नेकपा एमालेको भने आफ्नै माग पनि छ, सभामुखको राजीनामादेखि निलम्बित सांसदहरूको पुनरागमन । नत्र आजसम्म नेकपा एमालेले संसद्भित्रै नाराबाजी गरेर संसद चल्नै दिएको छैन । फागुन ८ गते आइतबार बसेको संसदीय दलको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबुल गराएसँगै एमसीसी अनुमोदनका लागि फागुन १२ गते बिहीबार दिनको एक बजेका लागि बैठक राखेको थियो । आन्दोलित मोर्चाले सडक तनावग्रस्तै बनाए । शान्तिपूर्ण नाराबाजी भएको बिरोधमा आन्दोलनकारीले निषेधित घेरा तोडेर जाने बेला प्रहरीले लाठीचार्ज अर्थात् बल प्रयोग भएको थियो । आन्दोलनकारीलाई तितरबितर पारेसँगै आन्दोलनकारीहरूले सडकका पेटीको ब्लक निकालेर प्रहरीलाई हाने, इँटा–ढुङ्गाले हाने प्रहरीले पनि भाटा र केही अश्रुग्यास, पानीको फोहरा हानेको थियो भने आन्दोलन पक्ष र प्रहरी दुवै तर्फबाट दर्जनौं घाइते भएका थिए । त्यस दिन तनावग्रस्तै बन्यो बानेश्वर ।
फागुन १२ गते पनि उस्तै सुरक्षा कडा पारेको थियो । बिहान ११ बजेदेखि विभिन्न राजनीतिक दल एमसीसीविरुद्धमा उत्रेका अगुवाइहरूको विरोध जुलुसले बानेश्वर तातेको थियो, उता प्रहरीले सुरक्षा घेरा कडा बनाएको थियो । नभन्दै ८ गतेको जस्तै परिस्थिति फेरि फागुन १५ गते आइतबार दोहोरियो । प्रहरीले लाठीचार्ज, रबर गोलीदेखि अश्रुग्यास पानीको फोहरा हानेका थिए । भीड तितरबितर भयो, आन्दोलनकारीले प्रहरीलाई गुलेलीले समेत हिर्काए । उता भने सत्तापक्षले एमसीसी पास गराउन संसद्मा फागुन १५ गते १ बजे बोलाएको बैठकमा दिनभरिजसो सांसदहरूको एमसीसीको व्याख्यात्मक अभिव्यक्ति पछिपछि सोही दिन अबेर राति तनावै तनावको बीच एमसीसी अनुमोदन संसद्बाट पारित भयो । लगत्तै भोलिपल्ट फागुन १६ गते एमसीसीविरोधी तथा केही राजनीति भ्रातृ संगठनहरूले नेपाल बन्दको समेत आह्वान गरेका थिए ।