Logo

पाँचौं निफ १७ देखि २१ चैतसम्म

पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यही चैत १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुने भएको छ ।
गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाका कारण अन्तिम समयमा आएर भर्चुअल रुपमा गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमका कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएकोमा कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेका कारण भौतिक रुपमा गर्न लागिएको फेष्टिभल संयोजक केपी पाठकले बताएका छन् ।
महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले राज्य गर्नुपर्ने चलचित्र सम्बन्धि यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैंमा ठूलो कुरा हो भन्दै बोर्डले निफलाई सरकारी स्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको बताए । महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले निफ जस्तो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यस महोत्सवमा प्रदर्शन हुने विश्वभरिका उत्कृष्ट चलचित्र हेरेर चलचित्रकर्मी मात्र हैन आम चलचित्रप्रेमी दर्शकहरुले पनि धेरै कुरा प्राप्त गर्न सक्ने बताए ।
चलचित्र निर्देशक तथा चौथो निफका जुरी हेड तुलसी घिमिरेले अन्तर्राष्ट्रिय महोत्सव गर्नु आफैंमा चुनौती भन्दै यस्ता महोत्सवलाई निरन्तरता गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । यस महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्