बघौडामा सामुदायिक विद्युतीकरण पुनः सुरु «

बघौडामा सामुदायिक विद्युतीकरण पुनः सुरु

लामो समयदेखि थन्किएर रहेको बाँके राप्तीपारिको बघौडा क्षेत्रमा सामुदायिक विद्युतीकरण कार्य पुनः सुरु गरिएको छ । सो कार्यलाई तीव्र पार्न नेपाल विद्युत् प्राधिकरणले ठेकेदारलाई चेतावनीसहित निर्देशन दिएपछि काम सुरु गरिएको हो ।
बघौडा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराजका अनुसार पुरानै ठेकदार कम्पनीले १ महिनाभित्र आवश्यक पर्ने सम्पूर्ण सामानको व्यवस्था मिलाएर कामलाई तीव्र पार्न विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले निर्देशन दिएपछि काम पुनः सुरु गरिएको हो ।
राप्तीपारिको बघौडा क्षेत्रमा ६ महिनाभित्र विद्युत् पुराउने प्रतिबद्धताका साथ निर्वाचनमा विजयी भएका सांसद गहतराजले सोही कामलाई अगाडि बढाउन राजधानी पुगेर विभिन्न निकायमा पहल गरेपछि काम सुचारु भएको उनले बताए ।
रोकिएको विद्युतीकरणको कामलाई तत्काल सुरु गराउन निर्देशन दिन आग्रह गरिएपछि विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रीय कार्यालय र ठेकेदार दुवैलाई सो निर्देशन दिएको उनले बताए ।
उनले सो बारेमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर राप्तीपारिको विद्युतीकरणको कामलाई तत्काल सुरु गराउन आग्रह गरेका थिए ।
सोहीबमोजिम ठेकेदार कम्पनीले एक महिनाभित्र सबै सामग्री जुटाएर कामलाई तीव्रता दिनका लागि शुक्रबारबाटै काम सुरु गरिसकेको सांसद गहतराजले बताए । उनले थपे, म तीव्रताका साथ काममा लागी रहेको छु । अब चाँडै नै सो क्षेत्रका जनताले विद्युत् बाल्न पाउने छन् ।
विद्युतीकरणको कामलाई अगाडि बढाउन रुख काट्नेदेखि लिएर निकुञ्ज क्षेत्रमा कसरी जाने भन्ने विषयमा केही कानुनी अड्चन आएपछि ठेकेदारले काम रोकेकोमा अबको ३ महिनाभित्र प्राधिकरणले सबै प्रकारका कानुनी जटिलता फुकाउने जानकारी प्राधिकरणका महानिर्देशक घिसिङले गराएको उनले बताए ।
महानिर्देशक घिसिङले आफूले २ महिना यतामात्र सो विषयमा जानकारी पाएको बताउँदै तत्काल मातहतका निकायलाई काम अगाडि बढाउन निर्देशन दिएको र सोहीबमोजिम काम अगाडि बढिसकेको बताएका छन् ।
डेढ वर्षअघि जनार्दन शर्मा ऊर्जामन्त्री रहेको बेला उनले महानिर्देशक घिसिङसँगै कोहलपुरमा आएर बघौडाको भ्रमण गरेर ६ महिनाभित्र बघौडामा विद्युत् पुराउने घोषणा गरेका थिए । तर, हालसम्म पनि काम पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्