स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने

चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ । स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो ।
स्वयम्भू र सानो भ-याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए । त्यसैगरी सानो भ-याङमा रहेको विद्युतको हाइटेन्सन लाइन विद्युत प्राधिकरणले हटाउने भएपछि एक महिनापछि चिनियाँ पक्षले निर्माण थाल्ने मरासिनीले जानकारी दिए ।
उनले भने, “कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको छ । अब विस्तारको काम सुरु हुन्छ ।” कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो । तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म ११.४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ ।
तर, महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर साइट क्लियरेन्स हुन नसकेका कारण पूर्ण रुपमा साइट क्लियर भएपछि मात्र निर्माण थाल्ने चिनियाँ पक्षको भनाइ छ । सडक विभागले महाराजगञ्ज क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा दिनु पर्नेछ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको नदिने गरी फाइल अगाडि बढाइएको छ । सो क्षेत्र छोडेर काम गर्न पत्राचार गरिएको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिई तत्काललाई सम्झौता भएको क्षेत्रमा मात्र निर्माण थाल्ने संकेत देखाएको हो ।
कोभिड–१९का कारण पनि आयोजनाले गति लिन सकेको थिएन । तर चिनियाँ पक्षले सम्झौताअनुसार कलंकीदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी प्रकिया अगाडि बढाएकाले सम्झौताअनुसार नै सडक विस्तार हुने देखिएको सडक विभागले बताएको छ ।
विभागका अनुसार कलंकी–महाराजगन्ज–सुकेधारा पुलसम्मको २ सय ४४ मिटर सडक खण्डको मात्र साइट क्लियर हुन बाँकी छ । अन्य क्षेत्रमा साइट क्लियरेन्सको काम पूरा भइसकेको बताइएको छ । चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाका लागि नेपाल सरकारले साइट क्लियर गरेर दिएपछि काम अघि बढ्नेछ । अघिल्लो वर्षको फागुनमा नै सरकारले साइट क्लियर गरेर विस्तारको जिम्मा दिने योजना भए पनि आन्तरिक प्राविधिक तथा कोभिड–१९का कारणले आयोजनाको कार्य प्रगतिमा ढिलाइ भएको छ ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्ण रूपमा खाली गरेर विस्तारको काम सुरु गरिने छ । जसअन्तर्गत गत फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी, ढललगायत अन्य अवरोध हटाएर सीमांकन गरिने लक्ष्य राखिएको भए पनि ढिलो भएको थियो ।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २-२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने एक-एक लेनको साइकल लेन रहने र यससँगै पैदल यात्रु लेन पनि हुनेछ । साढे आठ किलोमिटर सडक खण्ड २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत लाग्ने अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । कलंकी–चाबहिलपछि तिलगंगा–कोटेश्वर सडक खण्ड विस्तार गरिने योजना सरकारको छ ।