स्याङ्जामा सुन्तला उत्पादनमा कमी

स्याङ्जा- चालु वर्षमा स्याङ्जामा सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको स्याङ्जामा चालु वर्षमा भने १३ हजार ८ सय ४० मेट्रिक टन मात्रै सुन्तला फलेको छ ।
गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको छ ।
गत वर्ष १ हजार ६ सय ५५ हेक्टरमा सुन्तला खेति गरिएकोमा ७० प्रतिशत अर्थात १ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा १५.२ टनप्रति हेक्टर सुन्तला फलेको थियो । गत वर्ष १ हजार १ सय ६० हेक्टरमा ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको थियो भने ५५ करोडको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।
चालु वर्षमा भने १ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा १३ हजार ८ सय ४० मेट्रिक टन सुन्तला फलेको हो । स्याङ्जामा सुन्तला खेति १ हजार ९ सय ६९ क्षेत्रफलमा विस्तार गरिएपनि ५ सय ९० हेक्टर क्षेत्रफलमा रहेका सुन्तलाका बिरुवाले उत्पादन दिएका छैनन् ।
गत वर्ष ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको जिल्लामा चालु वर्षमा ७६ करोड १२ लाख रुपैयाँको सुन्तला फलेको छ । चालु वर्षमा ३ हजार ४ सय ६० मेट्रिक टन अर्थात २५ प्रतिशत १९ करोड २ लाख मूल्य पर्ने सुन्तला आन्तरिक रुपमा खपत भएको छ भने १० हजार ३ सय ८० मेट्रिक टन सुन्तला बिक्री हुँदा ५७ करोड ९ लाख आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादित सुन्तलाको २० प्रतिशत अर्थात २ हजार ७६ मेट्रिक टन सुन्तला स्थानीय बजारमै बिक्री हुँदा ११ करोड ४१ लाख सुन्तलाबाट आम्दानी हुँदा भने ८० प्रतिशत ८ हजार ३ सय ४ मेट्रिक टन सुन्तला जिल्ला बाहिर निर्यात हुँदा ४५ करोड ६७ लाख रुपैयाँ जिल्लामा भित्रिएको छ ।
गत वर्ष ४५ रुपैयाँमा होलसेल बिक्री भएको सुन्तला चालु वर्ष भने ५० रुपैयाँमा बिक्री भयो भने ७५ मा खुद्रा बिक्री भएको सुन्तला चालु वर्ष ५ रुपैयाँ वृद्धि भएर ८० रुपैयाँमा बिक्री भएको छ । जिल्लामा सुन्तला टिपाई ९९ प्रतिशत सकिएको छ ।
सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएकाले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन परियोजना सञ्चालनमा छ । सुपरजोनअन्र्तगत १ हजार ५ सय ९० हेक्टरमा र कृषि ज्ञान केन्द्रमार्फत ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जिल्लाका पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती गरिँदै आएको छ ।