साढे दुई करोड लगानीमा गुठिचौर–डोल्पा सडक निर्माण हुँदै

जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडक निर्माण हुने भएको छ । गुठिचौर गाउँपालिका–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माण हुने भएको हो ।
जुम्ला सदरमुकाम खलंगाबाट दानसाँघु, गज्र्याङ्कोट हुँदै डोल्पा जाने सडकमा साना सवारी गुडिरहेका छन् । डोल्पा जिल्लासँंग व्यापारिक सम्बन्ध विस्तार गर्न, ठूला सवारीको आवत जावतलाई सहज गर्नका लागि साढे दुई करोड बढीको लगानीमा सडक निर्माण गर्न थालिएको हो । गत मंगलबार सडक निर्माण शिलान्यास गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले चालू आवभित्रै गुठिचौर–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने निर्माण सकिने बताए । उनले भने, “गुठिचौरदेखि डोल्पासम्म सडक निर्माणका लागि दुई करोड ६० लाख बजेट विनियोजन भएको छ । सडक निर्माण गर्न गुठिचौर गाउँपालिकाको एक करोड ३० लाख कर्णाली प्रदेशको समपूरक बजेटबाट एक करोड ३० गरी दुई करोड ६० लाख बजेट छुट्याइएको छ ।”
प्याकुरेबाडा–मुडुरी, गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक हिउँदका लागि निकै उपयुक्त हुनेछ । डोल्पा सडक पु¥याउनका लागि दुहियाभीर फोड्नु पर्ने अध्यक्ष भण्डारीको भनाइ छ । गुठिचौर गाउँपालिकालाई सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ ।
सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारीले सडकको गुणस्तरियता र मापदण्डको विषयमा ख्याल पु-याएयर काम अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले सडकको चौडाइ, लम्बाइ र गुणस्तरमा ध्याय दिनु पर्नेमा जोड दिए ।
सडक निर्माणको कामअनुसार बजेट भुक्तानी गर्ने गुठिचौरका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले बताए । यो सडक निर्माणपछि जुम्ली नागरिकलाई डोल्पा जान छिटो छरितो हुने र व्यापारिक गतिविधि बढ्ने उनको विश्वास छ । सडक निर्माण पहिलो चरण सकिएपछि ग्राभेल तथा स्तरवृद्धिका लागि थप बजेट लगानी गर्न संघ र प्रदेश सरकारलाई माग गरिने भएको छ ।
जुम्ला र डोल्पाको पूर्वी व्यापारी नाका गुठिचौर गाउँपालिका हो । जसमा सडक निर्माणले व्यापारका सामान आयत तथा निर्यात गर्न, सजिलो हुनेछ । जुम्लाको जडिबुटी र स्याउ, डोल्पाको बहुमूल्य यार्सागुम्बासहितका जडिबुटी ओसारपसार गर्न राहत पुग्नेछ । माथिल्लो कर्णालीका गुठिचौर–डोल्पा सडक बहुआयामिक हुने विश्वास गरिएको छ ।
यसका साथै गुठिचौर गाउँपालिकाका सातवटै वडामा सडक सञ्जालको पहुँच पुगेको छ । सबै वडामा साना सवारी पुगिसकेका छन् । ठूला सवारी गुडाउनका लागि सडक स्तरवृद्धिको कामलाई समेत अघि बढाइएको गुठिचौर गाउँपालिकाले जनाएको छ ।