Logo

अस्पताल निर्माण गर्दा स्वास्थ्य केन्द्रको भवनमा क्षति

खोटाङ- निर्माण कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको भवन क्षतिग्रस्त भएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शैय्याको अस्पताल बनाउनका लागि घडेरी सखार्ने क्रममा स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।
नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा जग भत्किएर स्वास्थ्य केन्द्रको तीनकोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवन मुनि भ्वाङ परेको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।
स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुईवटा कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान, कोभिड–१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।
काम नै नदिने गरी भवनमा क्षति पुगेपछि भुक्तानी रोकिएको जन्तेढुंगा गाउँपालिका स्रोतले जनाएको छ । १५ मंसिर २०७७ मा शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतकै घर पनि जोखिममा परेको छ ।
१८ करोड ६ लाख ८२ हजारमा दुई वर्षभित्र निर्माण गरिसक्नु पर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ । निर्माणाधीन अस्पातलको मेसिनरी वालमा समेत गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीय चिरन श्रेष्ठले बताए । “अस्पताल बन्नु सुखद् कुरा हो । तर, अस्पातल निर्माण गर्दा स्वास्थ्य केन्द्रको भवनमै क्षति पु¥याएर निर्माण कम्पनीले हदैसम्मको लापरबाही गरेको छ,” श्रेष्ठले भने, “अर्कातिर मेसिनरी वालमा पनि गुणस्तरहीन सामग्री प्रयोग गरिएको छ ।”
उनले माघ २ गते अस्पतालको भवन निर्माणसम्बन्धी स्टेटमेन्ट र कागजात माग गर्दै गाउँपालिकामा निवेदन दिएका थिए ।
सेवाप्रवाहका दृष्टिले जन्तेढुंगामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको हो । तर, प्राथमिक स्वास्थ्य केन्द्रको जगकमजोर र बगुवा भएकाले सिमानासम्मको जग्गा खार्ने क्रममा भवनमा क्षति पुगेको सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर यादव केसीले बताए । “क्षति पुगेको संरचना बनाउँछौँ,” यादवले भने ।

प्रतिक्रिया दिनुहोस्