Logo

रवीन्द्र अधिकारीमाथि भ्रष्टाचारीको आरोप लगाउनेले प्रमाण खोज्न सांसद भट्टराईको चेतावनी

पोखरा – नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी माथि भ्रष्टाचारीको आरोप लगाउनेहरूले प्रमाण खोज्न सांसद विद्या भट्टराईले चेतावनी दिएकी छन् । अधिकारीको तेस्रो स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता अधिकारीकी धर्मपत्नीसमेत रहेकी सांसद भट्टराईले विना प्रमाण कसैलाई दोष लगाउन नपाइने उल्लेख गर्दै रवीन्द्रमाथि भ्रष्टाचारीको आरोप लगाउनेहरूले अब प्रमाण पेस गर्नुपर्ने चेतावनी दिएकी हुन् ।
भ्रष्टाचारमा संलग्न भएका उपर सरकारले कारबाही नै गर्नुपर्ने बताउँदै सांसद भट्टराईले बिनाप्रमाण कुनै नेतालाई आरोप लगाउन नहुने बताइन् । कुनै समयमा राजनीति गर्न आन्दोलनकारी हुनुपर्ने अबस्था भए पनि हाल भिजन र सोच भएको मान्छे राजनीतिक गर्न सक्ने उनले बताइन् । कार्यक्रममा रवीन्द्र अधिकारीमाथि भ्रष्टाचारको आरोप तर त्यसको फाइदा भने केही व्यत्तिले लिएको छ भन्ने प्रश्नमा सांसदले उक्त कुरा बताएकी हुन् । राज्यले दोषीउपर कारबाही गरी सार्वजनिक गर्न समेत उनले माग गरिन् ।
रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य भट्टराईले यसबर्षबाट २५ लाखको अक्षय कोष स्थापना गरी सुरुवात गरिने बताइन् । नेता अधिकारीको जन्म दिन वैशाख २२ को अबसर पारेर एक जना पत्रकारलाई पुरस्कृतिसमेत गरिने भएको उनले जनाइन् ।
प्रतिष्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्रिदिवसीय रूपमा मनाउने तयारी गरिएको लजनाए । फागुन पन्ध्र गते बिहान ८ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान ११ः०० बजे “रवीन्द्र स्मृति दिवस समारोह, फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा “विद्यार्थी राजनीति, विकास र रवीन्द्र अधिकारी’ विषयमा परिसंवाद कार्यक्रम आयोजना गरिएको आचार्यले जनाए ।
कार्यक्रममा नेता अधिकारी विकास प्रेमी, सबैको लोकप्रिय, नेतामा हुनुपर्ने गुण भएको सबैलाई उत्तिकै माया गर्ने नेताको रुपमा हिजोआज पनि स्मरण हुने गरेको कार्यक्रममा सहभागी पत्रकारहरूले बताएका थिए । कार्यक्रममा केही पत्रकार रवीन्द्र अधिकारीलाई स्मरण गर्दै भावुकसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्