लगानी सम्मेलनबारे पर्याप्त छलफल भएन : डा. महत «

लगानी सम्मेलनबारे पर्याप्त छलफल भएन : डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक भए पनि सरकारले पर्याप्त छलफल नगरेको बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा नेता डा. महतले मुलुकको विकास र समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको भए पनि सरकारले सम्मेलनको तयारी र छलफल आवश्यक मात्रामा नगरेको बताए ।
नेता डा. महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको स्मरण गर्दै उहाँले नै विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गरेको दाबी गरे । उदार आर्थिक नीति ल्याउन र आधुनिक नेपाल निर्माणका लागि उहाँको भूमिका उच्च रहेको उनले बताए । वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा उनले खुसी व्यक्त गरे । “विदेशी लगानी आकर्षण गर्न सरकारले केही पूर्वआवश्यकता पूरा गर्नुपर्छ,” उनले भने, “अहिले केही नयाँ कानुन पारित भएका छन्, तर विदेशी लगानीका लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाइएको भनिएको छ ।”
डा. महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको दाबी गरे । “उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ,” उनले भने, “लगानीका लागि ऐन, कानुनहरू बनाएर मात्रै हुँदैन, व्यवहारिक रूपमा लागू पनि हुनुपर्छ ।” विदेशी लगानी भिœयाउन पहिले नेपालका सडक, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । सरकारले दक्षता देखाउन नसक्दा ती काम हुन नसकेको उनले आरोप लगाए ।
पूर्वअर्थमन्त्रीसमेत रहेको डा. महतले लगानी सम्मेलनका लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउन सुझाव दिए । “अहिले पनि प्रशासनिक झन्झट छ,” उनले भने, “एकद्वारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे पनि कुनै काम गर्दा दर्जनौं कार्यालय धाउनुपर्ने बाध्यता विद्यमान छन् ।”
तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे । “के÷कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समीक्षा गर्नुपर्छ,” उनले भने, “त्यतिवेला मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक भाग पनि लगानी आएको छैन ।” उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउन र भएका लगानीकर्ताका जायज गुनासा सुन्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्