महालक्ष्मी विकास बैंकले २१ प्रतिशत लाभांश दिने

महालक्ष्मी विकास बैंकको बैंक सञ्चालक समिति अध्यक्षमा राजेश उपाध्यायलाई पुनः सर्वसम्मत भएका छन् । बैंकको बीसौ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७-०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफलपछि पारित गरेको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझाव ग्रहण गरेर बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास दिलाए । सभामा संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दीपककुमार रौनीयार र सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुङटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् ।