सप्तकोसी विकास बैंकका सीईओसहित तीन जना जेल चलान

विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित तीन जना कर्मचारी जेल चलान भएका छन् ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालशले सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।
पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत विराटनगरका सुपरीटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराई पुर्पक्षका लागि मोरङ कारागार चलान भएको उच्च अदालत विराटनगरले जनाएको छ ।