एमसीसीलाई टुंगोमा पु-याउन जोड

सत्ता साझेदार दल तथा प्रतिपक्षी दलका नेताहरुले अमेरिकी सहायता परियोजना एमसीसीबारे आ–आफ्नै अडान र तर्क प्रस्तुत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेताहरुले एमसीसीलाई एउटा टुंगोमा पु-याउनुपर्ने कुरामा भने जोड दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम रहनेगरी र एमसीसी परिमार्जनसहित पारित गर्नेगरी सहमति हुने बताए । बिडारीले एमसीसी परिमार्जनसहित मात्रै संसद्बाट अनुमोदन हुने दाबी गरेका छन् । उनले आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने पनि स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी गरे ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कि त एमसीसीको पक्षमा उभिनुपर्ने होइन भने सरकार तत्काल छोड्नुपर्ने बताए । उनले अहिले मुलुक स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा एमसीसीका कारण राजनीति अर्कैतर्फ मोडिएको सुनाए । कांग्रेस सुरुदेखि नै आफ्नो विचार र अडानमा अडिग रहँदै आएको पनि उनले उल्लेख गरे । उनले सरकारमा सहभागी दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले अघि सारेका प्रस्तावको पक्षमा नउभिएकोमा गुनासो पोखे । उनले आफ्नो पार्टीले सत्ता वा प्रतिपक्ष जेमा हुँदा पनि एउटै कुरा गरेको र कहिले पनि बोली नफेरेको जिकिर गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । अब राजनीति सग्लो हुनेको लागि अझै एक-दुई दिन लाग्न सक्ने बताए । उनले पनि मुलुक अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला भएको सुनाए । तर, अहिले मुलुकको ध्यान अन्तै मोडिएको उनको भनाइ छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताए । उनले एमसीसी सम्झौताको हकमा आफ्नो पार्टीमात्रै केही कुरा पनि सहभागी नभएको जिकिर गरे । तर, देशको विकासकोलागि यो अनुदान लिनुपर्छ भनेर आफूहरुले भनेको स्पष्ट पारे । उनले एमसीसीबारे पहिले सरकारमा बसेकाहरुले आफ्नो दृष्टिकोण एक रुपमा ल्याउनुपर्नेमा जोड दिए ।