प्रधानसेनापछि खुला म्याराथनमा बस्नेत प्रथम

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् ।
सेना दिवसका अवसरमा शनिबार आयोजित ४२।१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी उनी प्रथम घोषित भए । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वल्र्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए । उनीहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए । उनीहरुलाई क्रमशः रु ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई रु ७५ हजार नगद र स्कुटर प्रदान गरियो ।
विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।