Logo

नेवार जातिका विशेषता

काठमाडौँ उपत्यका र उपत्यकावरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूका बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धान गरिसकेका छन् । ‘नेवाः’ शब्दले नेपालको एउटा मूलवासी भाषिक समुदायलाई जनाउँछ । नेवाःहरूको मूल थलो काठमाडौँ उपत्यका हो । नेवाः कुनै जातजाति वा जनजाति वा नश्ल वा धर्मविशेष होइन । नेवाः एउटा भाषिक समुदाय पनि हो, नेपालवासी (अहिलेको काठमाडौँ उपत्यका) को साझा संस्कृति हो । नेवाःभित्र कैयौँ मूल जातिहरू छन्— आदिवासी, कन्याकुब्ज, बङ्गाली, राजस्थानी, आसामी, मैथिली आदि । नेवाःभित्र सनातन धर्मअन्तर्गतका धेरै सम्प्रदायहरू छन्— शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैष्णव आदि । नेवाःभित्र जात–वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र) र यसभित्र थुप्रै उप–जातिहरू रहेका छन् । नेवारहरूका बारेमा थुप्रै अनुसन्धान भएका छन् । तर, अझै पनि यकिन कुरा स्पष्ट रूपमा थाहा हुन सकेको छैन । हुन त ९० प्रतिशतभन्दा बढी तिब्बती वर्मन अथवा मंगोल छन्, नेवारका ९० प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती–वर्मी समूहका) हुन्, तर अरू आगन्तुकहरू पनि नेवार बनेका छन् ।
नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन्, जो नेपाल भाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपाल भाषा भनेको पुरानो किरात भाषामा लिच्छविहरूले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो । नेपाल भाषा बन्नुभन्दा पहिला त नेवार र तामाङहरूको एउटै भाषा थियो । नेवारको श्रमिक वर्ग, जस्तो– नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसान, ज्यापूहरू सबै तिब्बती वर्मन वा मंगोल मूलका छन् । नेवारहरूमा यिनीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरूमा श्रेष्ठहरू छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवार आदिवासी नै हुन् । अरू बाँकी १० प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुन सक्छ ।
आदिवासी भन्नेबित्तिकै नेवारहरू सुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा सुरुदेखि बसेका त कोही पनि छैनन् होला । नेवार जातिलाई एउटै धागोमा बाँध्न सक्ने विभिन्न बलिया आधारहरूको भने अभाव छैन । नेवारभित्र ‘जनै लाउनेदेखि सनै बजाउने’ सम्मका ऐतिहासिक जातहरू पर्छन् । मानव जन्मदेखि मर्दासम्म नै गरिने कर्मअनुसारका विगत बोकेका नेवारहरू छन्, जुन कुरा अन्य जातिमा पाइनु असम्भव नै देखिन्छ । जस्तो— हाल दार्जीलिङमा रहेका प्रवासी नेपालीहरू गोर्खाली भनेर चिनिन्छन् । ती एक प्रकारका जाति मात्र हैनन्, यो स्थान विशेषको पहिचान हो । जस्तो– इही विवाह, एउटै भाषा, नाक नछेड्नु (महिलाले), ढोग्ने तरिका, गुठी प्रथा, म्हः पूजा आदि । यस्ता व्यवहार र प्रचलनले नेवारलाई एकतामा आबद्ध गर्छन् ।
चाहे ऊ हिन्दू होस् वा बुद्धिष्ट, अभिजात होस् वा तल्लो श्रेणीका, किसान वा अफिसमा काम गर्ने होस् । नेवार जाति भाषा, संस्कृति, धर्म, वेशभूषा, खानपिन, रीतिरिवाज र आर्थिक रूपमा धनी छौँ भनेर हिजोको ब्याजले आजसम्म त चल्ला तर भोलिका सन्तानको समृद्धिका लागि नेवारले सचेत हुनैपर्छ । वर्तमान सन्दर्भमा अन्य जाति–जनजातिले जीवन अवधिभर उपभोग र संरक्षण गर्न रचनात्मक संघर्ष गर्नैपर्ने हुन्छ । बिनालक्ष्य र बिनाआधारको भेला, जमघट र अरूको भरिया मात्र भएर नेवारहरूको भलाइ हुने छैन । यसैअनुसार संघ–संस्था र समाज निर्माण, सोहीअनुसारको लक्ष्य बनाउँदै अघि बढ्दा मात्र भावी पुस्ताको समग्र विकास गर्न सक्नेछौँ, अन्यथा ‘नेवार बिग्रियो भोजले’ उखान चरितार्थ भइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्