परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु

लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गतका महिलाहरूले परम्परागत दुना टपरीको व्यावसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशीनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरु भएको हो ।
मध्यनेपाल–९, बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाहरूले आधुनिक मेसिनबाट दुना टपरी बनाउन थालेका हुन् । नगरपालिकाले दुना टपरी बनाउने मेसिनसमेत खरिद गरिदिएपछि समुहमा आवद्ध महिलाहरूले शनिवार देखि औपचारिक रूपमा व्यावसायिक दुना टपरी उत्पादन थालेका हुन् ।
ग्रामीण भेगमा रहेका महिलाहरूलाई व्यवसायिक र आत्मनिर्भर वनाउने उदेश्य सहित नगरपालिकाले तालिम सहित परम्परागत दुनाटपरी वनाउने मेसिन खरिद गरी सहयोग गरेको हो । प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सिपलाई उपयोग गरी स्थानिय महिलाहरूलाई व्यावसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिइएको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए ।
शनिबार एक औपचारिक कार्यक्रमका विच उक्त मेशीनको उद्घाटन गरी दुना टपरी उत्पादन सुरु भएको हो । नगरप्रमुख पाण्डेले दुना टपरीको व्यावसायिक उत्पादन उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले ग्रामीण भेगका महिलाहरूलाई संगठित गरी आर्थिक तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यले व्यावसायिक कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘सालको पातको टपरी वनाउने चलन नयाँ पुस्तामा हराउदै गएको छ’ नगरप्रमुख पाण्डेले भने, ‘महिलाहरूलाई व्यवसायिक बन्न र पुख्र्यौली महत्वका वस्तुहरू जर्गेना गर्नसमेत यो कामले सार्थकता पाउनेछ ।’
तालिममा सहभागी महिलाहरूले आधुनिक मेसिनको प्रयोग गरी सालको पातबाट परम्परागत दुना टपरी वनाउन थालेका हुन् । वनजंगलमा खेर गइरहेको सालको पातलाई सदुपयोग गर्न र उद्यम क्षेत्रमा अघि वढ्ने प्रेरणा मिलेको स्थानियले बताएका छन् । तालिमका क्रममा सिकेको सिपलाइ सदुपयोग गर्ने प्रतिबद्धता सहित व्यावसायिक उत्पादनले आर्थिक सुधार हुने स्थानियको विश्वास छ ।
मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर४ दुईपिप्लेअन्तर्गतका महिलाहरूलाई पनि सोही तालिम दिएको थियो । त्यहाँका महिलाहरूले पनि यसअघिनै व्यवसायिक रुपमा दुनाटपरी उत्पादन गर्दै आएका छन् ।
आधुनिक सामग्रीको प्रयोग बढेसँगै ग्रामिण भेगहरूमा पनि परम्परागत सालको दुना टपरी लोप हुँदै गएको छ । देशका स्थापित धार्मिक पिठहरूमा दुनाटपरी भेटिए पनि ग्रामिण भेगमा नै पातको दुनाटपरीको प्रयोग घट्दै गएको हो ।
वर्तबन्ध, श्राद्ध, सत्यनारायण पूजालगायत धार्मिक अनुष्ठानहरूमा सालको पातबाट बनेको टपरीको महत्व रहेको छ । धार्मिक कर्मकाण्डदेखि विवाह, भोज, भतेरमा प्रयोग गरिने पातको दुना टपरी कठिनाइ र मिहनतका साथ महिलाहरूले बनाउने गर्छन् ।