पुँजीगत खर्च १८ % मात्र

पुँजीगत खर्चः ६८ अर्ब ४७ करोड
चालू खर्चः ५ खर्ब ८ अर्ब
वित्तीय व्यवस्थापन खर्चः ५४ अर्ब
राजस्व संकलनः ६ खर्ब ३९ अर्ब
चालू आर्थिक वर्ष २०७८-०७९ को साढे सात महिना बित्नै लाग्दा १८ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्ममा ६८ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्च भएको हो, जुन लक्ष्यको १८.११ प्रतिशत हो ।
सरकारले चालू आवको अहिलेसम्म गरेको खर्च गत आवको सोही अवधिको तुलनामा झण्डै दुई अर्ब कम हो । गत आवको यस अवधिमा सरकारले लक्ष्यको १९.८४ प्रतिशत अर्थात् ७० अर्ब रुपैयाँ खर्च गरेको थियो । चालू आवमा शतप्रतिशत खर्च नहुने भएपछि सरकारले झण्डै १० प्रतिशले पुँजीगत बजेट घटाएको छ ।
चालूतर्फ भने सरकारले उल्लेख्य बजेट खर्च गरिसकेको छ । महालेखाका अनुसार आवको अहिलेसम्म सरकारले ४७.०७ प्रतिशत अर्थात् ५ खर्ब ८ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । गत आवको सोही अवधिमा ४५.०३ प्रतिशत अर्थात् ४ खर्ब २७ अर्ब रुपैयाँ खर्च गरेको थियो । वित्तीय व्यवस्थापनतर्फ भने २८.८३ प्रतिशत अर्थात् ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।
राजस्व संकलन भने सन्तोषजनक देखिएको छ । हालसम्म सरकारले लक्ष्यको ५४.२ प्रतिशत अर्थात् ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसमा कर राजस्वमार्फत ५ खर्ब ८५ अर्ब तथा गैरकर राजस्वतर्फ ५४ अर्ब रुपैयाँ संकलन भएको छ ।