नमुना गाउँपालिका बनाउन पूर्वाधार तयार गरेका छौं

प्रदेश : बागमती
जिल्ला : धादिङ
गाउँपालिका : नेत्रावती डबजोङ
अध्यक्षः दुर्गाकुमार शाक्य
उपाध्यक्ष: उर्मिला तामाङ गुरुङ
प्रमुख प्रशासकीय अधिकृत: श्यामकृष्ण पौडेल
कार्यालय: सेमजोङ
वडा संख्या: ५
जनसंख्या: ११ हजार २ सय ७१
२०७३ साल फागुन २७ गतेको निर्णयबाट साबिकको सेमाजाङ, मार्पाक र कटुञ्जे गाउँ विकास समितिलाई गाभेर नेत्रावती डबजोङ गाउँपालिका गठन गरिएको हो । मुलुक संघीय संरचनामा रूपान्तरण भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ जेठ महिनामा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएपछि जनताको अपेक्षा पूरा गर्न र नमुना गाउँपालिका बनाउन प्रशस्त कार्य सम्पन्न तथा थालनी गरेका छौं । हामीले गरेका कार्यबाट गाउँगाउँमा सिंहदरबारको नारालाई सत्य साबित गरेको दाबी गर्न सक्ने काम गरेका छौं । दाबी गर्ने मात्र होइन, जनताको स्थानीय सरकारप्रतिको अपेक्षालाई विश्वासमा परिणत गराउन सबै कार्यपालिका सदस्य र वडा सदस्यहरू दत्तचित्त भएर लागेका छौं । जनविश्वास प्राप्त गरेका छौं ।
स्थानीय तहको चुनावी महाअभियानमा घोषणापत्रमार्फत मतदातासमक्ष प्रतिबद्धता गरेका कुराहरूलाई कार्यान्वयन गरी नागरिकलाई आधारभूत सेवासुविधा प्रदान गर्न कार्यपालिका टिम एकमत भएर लागेका छौं । जनप्रतिनिधिभन्दा साढे दुई महिना जेठो गाउँपालिकामा तत्कालीन अवस्था कार्यकारी अधिकृतका साथ दुई-तीन जना कर्मचारीबाट काम सुरु गरेका थियौं । चेक काट्न अर्को पालिका तथा कोष लेखा नियन्त्रण कार्यालय धादिङबाट कर्मचारी आउँथे । अहिले ५० जना कर्मचारी छन् तर पनि पुगेको छैन ।
कर्मचारी पर्याप्त नहुँदानहुँदै पनि हामीले जनताको सेवा मात्र होइन, देखिने र महसुस गर्ने गरी विकासका पूर्वाधार तयार गरेका छौं । हामी नमुना गाउँपालिका बनाउन आवश्यक पर्ने पूर्वाधार तयार गर्दै छौं ।
नेत्रावती डबजोङ गाउँपालिका तिर्खामुक्त भएको छ । ९० प्रतिशत परिवारमा चौबीसै घण्टा एक घर एक धारोमार्फत खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएका छौं । बाँकी १० प्रतिशत परिवारले अहिले सामुदायिक धारोमार्फत खानेपानी खाइरहनुभएको छ । चालू आर्थिक वर्षको ती बाँकी परिवारमा पनि खानेपानी सुविधा उपलब्ध गराउँछौं ।
गाउँपालिकाभित्र टोड्के–चरङ्गे–वेतिनी–माउत–कोल्चेत–खानीगाउँ–मार्पाक–सेमाजोङ–भोकटेनी–सेले–कुपिण्डे–हुलाकगाउँ–टोड्केलाई समेटेर करिब ५५ किलोमिटरको चक्रपथ निर्माण गरेका छौं । पाँचवटै वडाका बस्तीस्तरमा सडक पु¥याएका छौं । करिब १५ किलोमिटर सडक पिच गर्न पूर्वाधार तयार गरेका छौं । ३८ वडा सडक मापदण्डअनुसार तयार गरेका छौं ।
नीलकण्ठ नगरपालिका वडा नं. १४ र नेत्रावती डबजोङ वडा नं. ४ मा पक्की मोटर पुल निर्माण गर्न ठेक्का लागिसकेको छ । नीलकण्ठ नगरपालिका १३ र नेत्रावती वडा नं. ४ जोड्ने सडकमा कल्भर्ट निर्माण गरेका छौं ।
जनस्वास्थ्य हाम्रो महŒवपूर्ण सेवाका रूपमा विस्तार गर्न पालिकास्तरीय १५ शय्याको अस्पताल सञ्चालन गरेका छौं । तीनवटा स्वास्थ्यचौकीका लागि आवश्यक भवन निर्माण गरिरहेका छौं । यस वर्ष स्वास्थ्य भवन पनि पूरा हुने चरणमा छ । तीनवटा आधारभूत स्वास्थ्य संस्था सञ्चालन भइरहेका छन् ।
आयुर्वेदिक सेवा पनि नागरिक आरोग्य केन्द्रमार्फत सेवा दिइरहेका छौं । पाँचवटा विद्यालय आपसमा गाभेर अहिले २३ वटा विद्यालय सञ्चालनमा छन् । पाँचवटा माध्यमिक र १८ वटा आधारभूत विद्यालय छन् । ती विद्यालयहरूमा माविमा पाँच जना, आविमा १९ जना र बालविकासमा सात जना गरी ३१ जना शिक्षक तथा सहजकर्ता नियुक्त गरेका छौं । बालविकास सहजकर्तालाई नेपाल सरकारले तोकेअनुसारको तलब खुवाएका छौं । सबै विद्यालय पक्की भवनमा सञ्चालित छन् । केही निर्माण सम्पन्न हुन बाँकी रहेका पनि यसै वर्ष पूरा गर्छौं ।
कृषि तथा पशुपन्छीमा पनि राम्रै काम गरेका छौं । सबै वडामा टनेल प्रविधि पु-याएका छौं । किवी खेती उत्पादन सुरु भइसकेको छ । किसानहरू बिस्तारै प्रविधि र सीपयुक्त हुँदै छन् । बंगुरपालन, बाख्रापालन, माछापालन, कुखुरापालन व्यावसायिक रूपमा गर्न थालेका छन् । भैंसीपालन प्रवद्र्धन गरिरहेका छौं ।
सिँचाइ कुलो निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । बिस्तारै किसानहरू अन्तरनिर्भर हुँदैन आएका छन् । चालू आवमा सबै परिवारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्छ र टुकीमुक्त गाउँपालिका हुन्छ ।
यसैगरी धार्मिक पर्यटनको क्षेत्रमा पनि गर्व गर्न मिल्ने काम गरेका छौं । सानाठूला गरी २० वटाभन्दा बढी गुम्बा-मन्दिर निर्माण तथा मर्मत गरेका छौं । भोक्टेनी टाटे सोछोइलिङ गुम्बा ४ करोड लगानीमा निर्माणाधीन छ ।
विन्दुकेसरा महादेव मन्दिर १ करोड ३० लाख खर्चेर निर्माण गरेका छौं । दवजोङ दरबार मर्मत गरी संरक्षण गरेका छौं । सेमजोङमा वनभोज स्थल निर्माण गरेका छौं । पाँचवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको र तीनवटा निर्माणाधीन अवस्थामा रहेको छ ।
गाउँपालिकाको प्रशासनिक कार्यका लागि २० कोठे दुईवटा भवन निर्माण सम्पन्न हुँदैछ । सभा हल र बैठक कक्षसहित रहेको छ । वडा कार्यालयहरू दुईवटा पुरानामै सञ्चालन गरिरहेका छौं, दुईवटा नयाँ निर्माण गरेका छौं । एउटा निर्माणाधीन रहेको छ ।