पशुमा कृत्रिम गर्भाधान गराउने बढे «

पशुमा कृत्रिम गर्भाधान गराउने बढे

अर्घाखाँचीका कृषक पशुमा कृत्रिम गर्भाधान गराउन उत्साहित भएका छन् । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ बढी उत्साहित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयले जिल्लामा शुरु गराएको कृत्रिम गर्भाधान छोटो समयमै लोकप्रिय भएको छ ।
गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृत्रिम गर्भाधान गराई नस्ल सुधार गर्दै व्यावसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । गतवर्ष विभिन्न स्थानमा ४ हजार ६ सय ५२ वटा गाईभैंसीमा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले बताए ।
संख्यात्मक रूपमा धेरै रहेका कम उत्पादनशील पशुको कृत्रिम गर्भाधानको माध्यमद्वारा उत्पादकत्व वृद्धि गराउन सेवा कृत्रिम गर्भाधान सुरु गरिएको हो । “यस वर्ष ७ हजार गाईभैंसीमा कृत्रिम गर्भाधान गराउने लक्ष्य राखिएको छ,” प्रमुख डा. पौडेलले भने, “बढी दूध उत्पादन हुने क्षेत्र दुर्गाफाँट, पटौटी, धातिवाङ, बेलाहा, ठूलापोखरा, वाँगी र सन्धिखर्क नगरपालिकालाई प्राथमिकतामा राखिएको छ ।” पशुमा कृत्रिम गर्भाधान गराउन जिल्लामा १० जना प्राविधिकलाई विशेष तालिम दिएर खटाइएको छ ।
कृत्रिम गर्भाधान गराएवापत पशु सेवा कार्यालयले जम्मा २५ रूपैयाँ मात्र शुल्क लिने गरेको छ । तर, किसानको घरमै गएर सेवा दिनुपरेमा ५ सय रूपैयाँसम्म शुल्क लिने गरिएको छ । कृत्रिम गर्भाधानको वीर्यबाट जन्मिएका पाडी तथा बाच्ची पनि उन्नत जातका हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्