तिहारमा लोडसेडिङ हुन नदिइने «

तिहारमा लोडसेडिङ हुन नदिइने

दीपावलीमा विद्युत्को माग उच्च भए पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नगर्ने भएको छ । गत वर्षको लक्ष्मीपूजादेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएको प्राधिकरणले चैतदेखि देशलाई नै लोडसेडिङमुक्त बनाएको दावी गरेको छ । प्राधिकरणले सबैभन्दा बढी माग हुने तिहारभर लोडसेडिङमुक्त गराउन यस वर्ष पनि सक्षम हुने दावी गरेको छ । 
गत वर्ष लक्ष्मीपूजाको दिन वर्षभरिकै सबैभन्दा बढी माग १ हजार ४ सय ४४ मेगावाट विद्युत्को माग थियो भने यस वर्ष १ हजार ५ सय ५० मेगावाट पुग्ने अनुमान छ । “तिहारमा सबैभन्दा बढी १ हजार ५ सय ५० मेगावाट विद्युत् माग पुग्ने अनुमान गरेका छौं, यस अवधिमा लोडसेडिङ नगर्ने योजना पनि बनाएका छौं,’ विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले भने, “सकेसम्म लोडसेडिङ हुँदैन, अपवादमा थोरै गाउँमा हुन सक्छ तर सकेसम्म लोडसेडिङ नगर्ने योजना छ ।”
विद्युत्को माग १ हजार ५ सय ५० मेगावाट रहेकोमा तिहारको बेला उद्योग नचल्ने कारण उद्योग, कलकारखानाले खपत गर्ने ४ सय मेगावाट कम हुनेछ । हाल विद्युत् प्राधिकरणले भारतबाट ३ सय ५० मेगावाट आयात गरिरहेकोमा बढाएर ४ सय १५ मेगावाटसम्म लिने लक्ष्य राखिएको प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल निजी प्रवद्र्धकका तर्फबाट ३ सय ५० मेगावाट र प्राधिकरणको तर्फबाट ४ सय ५० मेगावाट बराबरको उत्पादन भइरहेको छ । मागको आधारमा करिब ३५ मेगावाट विद्युत् अभाव हुन सक्ने भएकोले प्राधिकरणले पिक आवरको समयमा बढी विद्युत् खपत गर्ने उपकरणहरू नचलाउन सार्वजनिक रूपमा आह्वान गरिसकेको छ । अधिकतम माग रातिको समयमा हुने भए पनि विहान त्यसको ८० प्रतिशत तथा दिउँसो र राती १० बजेपछि ६० प्रतिशत मात्र विद्युत् माग हुने गरेकोले दिउँसो वा राती १० बजेपछि मात्र विद्युत् बढी खपत गर्ने उपकरणहरू चार्ज गर्न विद्युत् प्राधिकरणले अनुरोध गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्