स्याङ्जामा ३२ हजार मतदाता थपिए

स्याङ्जा– स्याङ्जामा ३२ हजार नयाँ मतादाता थपिएका छन् । स्थानीय तह प्रदेश र संघीय निर्वाचन २०७४ पछि ३२ हजार नयाँ मतादाता थपिएका हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको छ ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी घोषणा गरेपछि मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । पुस ५ गतेदेखि निर्वाचन कार्यालयले जिल्ला प्रशासन स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट मतदाता नामावली संकलन गर्दै आएको थियो ।
स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि माघ २५ गतेदेखि मतदाता नामावलीमा फोटो खिचाउने कार्य स्थगित गरेको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार जिल्लामा झण्डै ३२ हजार बढी नागरिकले मतादाता नामावलीमा फोटो खिचाएका छन् । पुस ५ गतेदेखि माघ २४ गतेसम्म जिल्लामा ३२ हजार ८४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयले जानकारी दिएको छ । अघिल्लो निर्वाचनको मतदाता संख्याको १५.२७ प्रतिशत बढि हो । २०७४ सालको तीन तहको निर्वाचनमा २ लाख १० हजार ३८ जना मतदाता रहेकोमा २०७९ को घोषित स्थानीय तहको निर्वाचनमा २ लाख ४२ हजार १ सय २२ जना मतदाताले भाग लिने छन् ।
जिल्लामा १७ हजार ६ सय ९५ पुरुष र १४ हजार ३ सय ८९ महिलाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । ११ पालिका रहेको स्याङ्जामा नयाँ थपिएका मध्ये सबैभन्दा थोरै फेदिखोला र सबैभन्दा धेरै वालिङ नगरपालिकामा मतदाता थपिएका छन् ।