एक वडा तीन कार्यालय «

एक वडा तीन कार्यालय

दोलखा-स्थानीय तहलाई जनताको घरघरको सरकारको रूपमा चिनिन्छ । नागरिकको दैनिक जीवनसँग सम्बन्धित र सानासाना विकास निर्माणको काम र सरकारी कामको सुरुवात नै वडा कार्यालयबाट हुन्छ । तर एउटा वडा कार्यालयको कतिवडा कार्यालय हुन्छ भनेर सोध्यो भने त्यसको जवाफ सहज छ एउटा । तर दोलखाको सरदरमुकाममै रहेको भीमेश्वर नगरपालिका–९ को यस्तो कार्यालय तीनवटा रहेको छ ।
भीमेश्वर नगरपालिका–९ को नागरिकका सहजताका लागि भन्दै तीनवटा कार्यालय सञ्चालनमा ल्याएको छ । राज्य पुनर्संरचना हुँदा २०७३ सालमा तीन गाविस भीमेश्वर नगरपालिकामा गाभिँदा लाँकुरीडाँडा गाविस पनि गाभिएको हो । त्यही लाँकुरीडाँडा गाविस अहिले भीमेश्वर नगरपालिकाको वडा नं. ९ हो ।
कर्मचारीले स्थानीय निकाय चलाउँदा गाविसका कार्यालय पनि सदरमुकाममै कोठा भाडामा लिएर चलाउँथे अहिले त्यही सदरमुकामको कार्यालय त्यसमा पनि नगरपालिकाकै जनप्रतिनिधि निर्वाचित भएर आउँदासमेत छाड्न सकेका छैनन् । वडाध्यक्ष चित्रबहादुर भुजेलका अनुसार ठूलो भूगोल र केन्द्रको कार्यालय सञ्चालन गर्न कठिन भएपछि दारेगौरा र खरिढुंगामा अस्थायी कार्यालय र चरिकोटमा कोठा भाडामा लिएर कार्यालय चलाउँदै आएको छ ।
वडा कार्यालयमा रहेका वडा सचिव, प्रविधिक र कार्यालय सहयोगी हप्तामा हरेक दिन बार मिलाएर तीन कार्यालय धाउँदै आएका छन् । तीन ठाउँ कार्यालय रहेका कारण स्थानीयस्तरमा अन्यत्र पक्की कार्यालय भवन तयार भइसक्दा समेत भीमेश्वर नगरपालिका–९ मा भने अहिले पनि ठाउँ विवादका कारण यो ५ वर्षमा निर्माण प्रक्रिया नै सुरु हुन सकेको छैन । वडाध्यक्ष भुजेलले सबैभन्दा सेन्टरको ठाउँ साविकको गाविस भवन भएकै ठाउँ भए तापनि माथिल्लो क्षेत्रलाई असुविधा हुने भन्दै वडा कार्यालय बनाउने ठाउँ टुंगोमा पुग्न नसकेको उनले बताए ।
पछिल्लो समय गाउँ रित्तिँदै गएका छन् । गाउँ छाडेर काठमाडौं र अन्यत्र बस्ने सरकारी कामका लागि गाउँमा आउँदासमेत वडा कार्यालयले सदरमुकाममै कार्यालय खोलेपछि सेवाग्राहीलाई त सजिलो होला तर गाउँबाट सहर छिर्नेहरू आफ्नो थातथलो नै बिर्सनसक्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्