दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

म्याग्दी-संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुईवटा बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झिँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रकृयामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदिप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । दुवै योजनाको सर्वेको काम सकेर लागत स्टिमेट तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रकृया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ ।
ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदानवापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराउन पहलसमेत सुरु गरिएको आयोजनाले जनाएको छ । घोप्टे खोलाबाट दुई हजार ६ सय ५८ र भगवतीपिप्ले खानेपानी आयोजनाबाट दुई हजार ४ सय १६ घरधुरी लाभान्वित हुने इन्जिनियर रेग्मीले बताए । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शीर रुइसेडाँडामा रहने मुख्य ट्यांकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाइन रहने प्रस्ताव गरिएको छ । यो आयोजना निर्माणका लागि ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।
रघुगंगा–६ पाखापानीको करेन्ट खोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शीरमा रहने ट्यांकीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झिँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । यो योजना सम्पन्न गर्न ३८ करोड लागत अनुमान गरिएको छ । कार्यालयमार्फत यस वर्ष बेनीबजार खानेपानी गुणस्तर सुधारका लागि एक करोड २५ लाख बजेटबाट बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर ट्यांकी निर्माण सुरु भएको छ ।