जुम्लामा अझै रोकिएन विषादी प्रयोग
जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।
विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।
तर अर्गानिक जिल्ला घोषणाको झण्डै डेढ दशक बितिसक्दा पनि जुम्लामा विषादी प्रयोग रोकिएको छैन । अर्गानिक जिल्ला घोषणा भएपनि कार्यान्वयनको स्पष्ट नीति र नियमन गर्ने निकाय नहुँदा विषादी प्रयोग नरोकिएको पाइएको छ ।
जुम्ली उत्पादन बिदेश गएर अर्गानिक नभएको पृष्टि भएका धेरै उदाहरण छन् । छुकीछिपी ब्युटाक्लोरको प्रयोग गर्ने धेरै छन् । जसले उत्पादन गिरावटदेखि अर्गानिक जिल्ला घोषणाामै सीमित भएको बुढ्थापाको भनाइ छ ।
स्थानीय सरकार आएपछि पनि अर्गानिक जिल्ला कार्यान्वयनमा थप चुनौति देखियो । विषादी प्रयोगको अबस्था विकराल बन्दै गएको छ । जिल्ला समन्वय समिति जुम्लाका काब प्रमुख कार्मा बुढाले भने, “कृषिमामा यान्त्रिकरण पनि छैन । मल बिउको अभाव उस्तै छ । युरिया मलको विकल्पमा गड्यौला मल उत्पादन गर्न सकिन्छ । तर स्थानीयतहको त्यसतर्फ पनि ध्यान छैन । पछिल्लो समय जुम्लाको स्याउ, सिमी, ओखर, आलु मार्सीधान अर्गानिक हो भन्न पनि अप्ठयारो लाग्ने अवस्था सृजना भएको छ । हब पनि अर्गानिक उत्पादनमा जोड नदिए जुम्ला पहिचान संकट पर्ने निश्चित छ ।”
रोग किरा नियन्त्रण तथा उत्पादन वृद्धि गर्ने दाउमा केही किसानले युरिया मलको प्रयोग गर्ने, मार्सीधानमा ब्युटाक्लोर हाल्ने गरेका छन् । जुम्ला अर्गानिक जिल्ला घोषणा भएकोले युरिया मलको विकल्पमा गाउँगाउँमा गड्यौला मल उत्पादनमा जोड दिनुपर्ने जिससका काब उपप्रमुख बुढाले बताए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले ब्युटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति ह«ाससँगै पशुचौपाय, मानव स्वास्थ्यमा असर गर्ने र उत्पादनमा समेत गिरावट आउने भएकाले विषादी प्रयोगलाई रोक्न नीति निर्माणदेखि कार्यान्वयनमा स्थानीय सरकारले जोड दिनु पर्ने बताए ।
जुम्लाका आठ पालिका मध्य तातोपानी गाउँपालिकाबाहेक अन्य सात स्थानीयतहले अर्गानिक कृषि उत्पादन बढाउन र विषादी प्रयोग रोक्न कुनै नीतिग व्यवस्था नगरेको पाइएको छ । तातोपानीमा विषादी प्रयोग गर्नेलाई एक हजार जरिवाना तोकेको अध्यक्ष नवराज न्यौपानले बताए ।