वनमा अब फलफूल खेतीका लागि नर्सरी

दोलखा-वर्षौंदेखि संरक्षण गरेका सामुदायिक वनबाट पर्याप्त आम्दानी नहुने भएपछि उपभोक्ता समितिले फलफूल खेतीको तयारी गरेका छन् ।
नाङ्गा पाखामा वर्षौंअघि वृक्षारोपण गरेर हरियोली भएपनि अहिले तिनले भने जस्तो आम्दानी भएनन् । संरक्षण मात्र गर्नुपर्ने तर, त्यसले खासै फाइदा नदेखेका उपभोक्ताले वनभित्रै फलफूल खेती गर्न नर्सरीसमेत स्थापना गर्न थालका छन् ।
दोलखामा वृक्षारोपण गरेर हुर्काइएका सामुदायिक वनहरुमा अघिकांशमा सल्लाका रुख छन् । जुनसुकै रुख बिरुवाको पनि वृत्ति विकास निश्चित अवधी हुन्छ । त्यसलाई सोहीअनुसार व्यवस्थापन गरे हाम्रा खेतबारीमा गरिएका खेती जस्तै हुन् । समयमा पाकेको बाली निकाले आम्दानी हुन्छ । तर त्यसलाई छाडे कुहिने र नष्ट हुने हुन्छ । त्यस्तै वनमा पनि हुर्काउने र संरक्षण मात्र गरेर उत्पादन नहुने भएपछि खाडी जग्गामा फलफूल खेतीका लागि नर्सरी स्थापना हुन थालेका हुन् ।
दोलखाको सामुदायिक वनहरुमा नमूनाको रुपमा भीमेश्वर नगरपालिका वडा नं. ९ लाँकुरीडाँडामा रहेको एक्लेपाखा सामुदायिक वन आफैंले फलफूलको नर्सरी स्थापना गरेका छ । नर्सरीमा सबैभन्दा धेरै किवी र वनमै हुने लोड सल्लाको नर्सरी रहेको छ । नर्सरीमा रहेका किबीका बिरुवा ब्लक बनाएर वनमै खेती गने र सस्तोमै उपभोक्तालाई बिक्री गर्ने लक्ष्य राखेको छ ।
लेकाली क्षेत्रमा पाइने लोडसल्ला मासिँदै जान थालेपछि त्यसका बिरुवा पनि नर्सरीमा हुर्कंदै गएका छन् । एक्लेपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर केसीका अनुसार आम्दानी नहुने सल्लाको रुख विस्तारै विस्थापित गर्दै क्रमशः वन क्षेत्रलाई विभिन्न ब्लकमा विभाजन गरेर किबी खेती र लोड सल्लाबाट केही वर्षमै करोडौं आम्दानी गर्ने सामुदायिक वनले लक्ष्य राखेको छ ।
एक्लेपाखा सामुदायिक वनमा अहिले २० हजार किबीका बिरुवा र १२ हजार लोड सल्ला छन् । किबी फल बजारमा उच्च माग भएको बहुवर्षिय फल हो भने लोड सल्ला क्यान्सरको औषधी बनाउन प्रयोग हुने बिरुवा हो । यो वनको नर्सरी मात्र १५ रोपनी क्षेत्रमा फैलिएको छ । सामुदायिक वनको प्रयासमा ग्रामीण पुनः निर्माण संस्थाले समेत प्राविधिक तथा केही आर्थिक सहयोग गरेको छ । “सामुदायिक वन संरक्षण मात्र गरियो आम्दानी केही भएन” उनले भने, “अब बहुमूल्य भएका लोड सल्ला र बजारमा उच्च माग भएका किबी लगाउन नर्सरी बनायौं ।”
दोलखामा एक्लेपाखा जस्ता अरु सामुदायिक वनले पनि आधुनिक नर्सरी स्थापना गर्न थालेका छन् । पछिल्लो समय सरकारीस्तर र निजी क्षेत्रबाट समेत बहुवर्षिय कृषि वनजन्य फलफूलका बिरुवाको माग भएपछि सामुदायिक वन आफैंले नर्सरी स्थापना गर्न थालेका हुन् ।
खोर्थली सामुदायिक वन उपभोक्ता समूहले पनि भीमेश्वर नगरपालिका वडा नं. ३ वन क्षेत्रमै आधुनिक नर्सरीको स्थापना गरेको छ । त्यहाँ वनजन्य टिमुर, कागती, नास्पाती, ओखर, आरुलगायत विभिन्न फूलका नर्सरीमा बिरुवा हुर्कंर्दै छन् । नर्सरी व्यवस्थापक इश्वर थापाले अब आउँदो सिजनमा फलफूलाका बिरुवाका लागि अन्यत्र धाउनु पर्ने बताउँछन् । लाँकुरीडाँडाको नर्सरीका लागि ग्रामीण पुर्ननिर्माण संस्थाले प्राविधिक तथा सिँचाईका लागि सहयोग गरेको छ ।
हरियो वन नेपालको धन भन्ने भनाइ धेरै पहिलेदेखिको नारा नै हो । तर वनको क्षेत्र बढ्दै छ । समुदायले व्यवस्थापन गरेका वनहरु पहाडी क्षेत्रमा सल्लाले धेरै ढाकिएका छन् । तर राम्रो काठका लागि देशभित्र कानुनी अड्चन देखाउँदै विदेशबाट वार्षिक अर्बौंको आयत हुन्छ । फलफूल र नर्सरीमा पनि विदेशमै पैसा गइरहेको छ । दोलखाका यी २ सामुदायिक वनले जस्तै आफ्ना क्षेत्रमा संरक्षणसँगै आयआर्जन हुने गरी काम गरे समूह र उपभोक्ता दुवैको आर्थिक समृद्धि पक्क हुन्छ । तर त्यसको नतिजा हेर्न केही वर्ष कुर्नै पर्छ ।