Logo

करोडौंको मेसिन प्रयोगबिहीन

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ ।
करिब ५ वर्षअघि खरिद गरि ल्याइएको ब्याग एक्सरे मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेसिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानीझैं भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने भन्सारलाई प्रविधिमैंत्री बनाउन लागिएको बताए । यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन । भन्सार कार्यालय जमुनाह नाकाभन्दा टाढा र भित्र परेको हुँदा पनि मेसिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिँदैन ।
नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्वसाधारणको आवतजावत हुने गरेको छ । जमुनाह नाकाबाट बिभिन्न प्रकारका अबैध क्रियाकलाप हुने गरेपनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताइएको छ ।
प्रहरी, भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीको नजरमा जे देखियो, त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन् । जसले गर्दा समानका बिच भागमा लुकाईछिपाई लगिने र अवैध सामान नेपाल भित्रने गरेका छन् । भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भइरहेको भन्सार कर्मचारी बताउँछन् । सो नाकाबाट दुवै देशका नागरिकहरु आवतजावत हुने गर्दछ । तर सो मेसिनबाट चेकजाँच भने हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्