संसद् बैठक स्थगित गरेर एमसीसीमा सहमति जुटाउने प्रयास

गत आइतबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाट तीव्र पारेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गराएर देउवा दिनभर शीर्ष भेटघाटमा व्यस्त रहे ।
देउवाले संसद् भवनमै नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग छलफल गरे । सत्ता साझेदार दलहरुले साथ नदिएपछि देउवाले एमालेसँग संवाद अघि बढाएका हुन् । केही दिनयता देउवा एमालेसँग निरन्तर संवादमा छन् । यद्यपि, उनले सत्ता गठबन्धनका नेताहरुसँग पनि देउवाले संवाद जारी राखेका छन् । देउवाले बिहीबार साँझ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार नै दोस्रोपटक आफ्नो निवासमा एमाले अध्यक्ष ओलीसहित नेताहरुसँग छलफल गरेका थिए । सत्ता साझेदार दलहरु नेकपा (एस) र नेकपा माओवादी केन्द्र यथास्थितिमा एमसीसी पास गर्न नहुने अडानमा छन् ।
नेकपा (एस)का नेता तथा सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गरेका छन् । बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गरेका हुन् । उनले एमसीसीको विरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभई बल्ने गरी आन्दोलन हुने चेतावनी दिए ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले भने एमसीसी पास हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । उनले नेपालमा कतिपय घटनाक्रमहरु पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहँदै आएको भन्दै एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताए ।
एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरुको चपेटामा देश परेको बताए । उनले एमसीसीमा राष्ट्रहित विपरित धेरै प्रावधानहरु रहेको भन्दै त्यो नसच्याई नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरु बोकेको पार्टीले एमसीसीमा समर्थनमा जानु नहुने बताए । सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरुले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताए । उनले ठूला राजनीतिक दलको केटाकेटी पन र आलोकाँचो व्यवहारका कारण देश आज शक्तिर ाष्ट्रहरुको रणनीतिक स्थलको रुपमा परिणत भइरहेको र परराष्ट्रनीतिमा सन्तुलन बिग्रिरहेको बताए । सांसद लिङ्देनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राप्रपा नरहने पनि स्पष्ट पारे ।
एमालेका सांसद योगश भट्टराईले गठबन्धन भत्काउन नेकपा एमालेले धुप हाल्ने र गणेशलाई पूजा गर्ने काम नगरेको भन्दै गठबन्धन सत्तारुढ दलहरुकै कारणले भत्किने बताए । उनले गठबन्धन भत्किएपछि मात्रै देशले निकास पाउने र गठबन्धन रहुन्जेल देश अनिर्णयको बन्दी हुने भन्दै गठबन्धन छिटो भत्किँदा राम्रो हुने बताए ।सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई ब्ल्याङ्क चेकको माग गरिरहेको बताए । उनले एमाले आफ्नो माग पूरा नभएसम्म कुनै पनि कुरामा सहभागी नबन्ने भन्दै स्पष्ट रुपमा एमालेसँग ब्ल्याङ्क चेकमा नभइ ब्ल्याक एण्ड ह्वाइटको कुरा हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले शुक्रबार एमसीसीको बारेमा टुंगो लाग्ने र सरकार पक्षमा स्पष्ट र आरामदायी बहुमत जुटाउने पक्षमा रहेको विश्वास व्यक्त गरे । सांसद विश्वकर्माले नेकपा एमालेले सरकारबाट सत्ता गठबन्धन टुटेमा आफू आउन तयार रहेको बताएको पनि दाबी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले पार्टी एमसीसीको पक्षमा रहेको बताए । उनले यसको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको र पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने पनि बताए ।
नेकपा (एस) का सांसद जीवनराम श्रेष्ठले गठबन्धन कायम रहने र यथास्थितिमा एमसीसी पास नहुने दाबी गरे । उनले संशोधन र परिमार्जन गरेर अघि बढ्ने स्थिति भएमा पार्टीले पुनः विचार गर्ने पनि स्पष्ट पारे ।
नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले सरकारले सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास हुन नसक्ने भन्दै गर्दा यसलाई सकारात्मक ढंगले लिनुपर्ने बताए । सरकारले एमसीसी पास गराउनका लागि बहुमत पु¥याउन नसक्दा विभिन्न गतिविधि गरेको बताए ।
गठबन्धन धरापमा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन् । बिहीबार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको बताए । महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)लाई संसद्भित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राखेको जानकारी दिए । भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्ने विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको बताउनुभएको उनले उल्लेख गरे ।
महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरिराख्नु नपर्ने बताए ।