खोटाङमा एम्बुलेन्सको दुरुपयोग

खोटाङमा एम्बुलेन्सको दुरुपयोग भएको पाइएको छ । दुर्घटनाका घाइते तथा गम्भीर प्रकृतिका बिरामी बोक्नुपर्ने एम्बुलेन्स अन्य यात्रु बोक्नमा प्रयोग गरेको भेटिएको हो ।
भारतीय पूर्वसैनिक संस्था दिक्तेलको नाममा रहेको सो एम्बुलेन्सले मट्टिमाला र पुलिकलगायतका पुराना चिजबिज खोज्दै हिँड्ने व्यक्ति बोकेर हिँडेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको सो एम्बुलेन्स दुरुपयोग भइरहेको आधारमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ स्थित याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।
एम्बुलेन्ससहित चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाका प्रेमचन्द्र राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले बताए ।
भारतीय राजदूतावासले जिल्लाका बिरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संस्थालाई २०१५ मा सो एम्बुलेन्स प्रदान गरेको थियो ।