ब्रोडब्यान्ड परियोजनाको ९९ प्रतिशत काम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको मुलुकका विभिन्न सार्वजनिक निकाय तथा स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत हालसम्म ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको जनाएको छ । माघ मसान्तसम्म लक्ष्यको ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भएको र यसको वित्तीय लक्ष्य भने ७४.२८ प्रतिशत रहेको बताइएको छ ।
यसका निमित्त हालसम्म ४ अर्ब २१ करोड ५१ लाख ६४ हजार ५९७ रुपैयाँ खर्च भएको जानकारी प्राधिकरणले दिएको छ, जबकि सेवाप्रदायक कम्पनीहरूसँग ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार २७६ रुपैयाँ बजेट सम्झौता गरिएको थियो ।
प्राधिकरणका अनुसार ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेजमार्फत ७० जिल्लाका तोकिए बमोजिमका स्थानहरूमा शतप्रतिशत कार्य सम्पन्न भएको छ । यस्तै, एउटा प्याकेज मार्फत अन्य चार जिल्लाहरूमा तोकिए बमोजिमका स्थानहरूमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरण प्रवक्ता सन्तोष पौड्यालले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म जडान कार्य सम्पन्न भएका परियोजनामध्ये हालसम्म ७ वटा परियोजनाको अनुगमन तथा प्रमाणिकरणको काम सम्पन्न भएको छ ।
यस्तैगरी एक परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट फेज एक अन्तर्गतको कार्य सम्पन्न भएको छ भने अन्य तीनवटा परियोजनाहरूको फेज दुई अन्तर्गत अनुगमन तथा प्रमाण्ीाकरणको कार्य भई प्रतिवेदन प्राप्त भएको छ । प्रवक्ता पौड्यालका अनुसार अन्य तीन परियोजनाको फेज थ्री अन्तर्गतको अनुगमन तथा प्रमाण्ीाकरण कार्यको लागि परामर्शदातालाई कार्यादेश जारी गरिएको छ ।
प्राधिकरणका अनुसार सम्झौता भएका १८ प्याकेज साइटमध्ये मुलुकभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान कार्य सम्पन्न भइसकेका छन् । देशका ७ सय २ स्थानीय तहको कार्यालयमध्ये ६ सय ९७ मा इन्टरनेट जडान भइसकेको र अन्य पाँच तहमा पु-याउने क्रममा रहेको जनाइएको छ ।
देशभरका ५ हजार ९ सय ३३ वडा कार्यालयमध्ये ५ हजार ८ सय ३३ वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको र १ सय वडा कार्यालयमा बाँकी रहेको उल्लेख छ । मुलुकभरका ५ हजार २ सय ३३ माध्यमिक विद्यालय र ४ हजार १ सय ८० स्वास्थ्य चौकीमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने लक्ष्य भने यसअघि नै पूरा भइसकेको छ । “यसरी ९९.२९ प्रतिशत स्थानीय तह, ९८.३१ प्रतिशत वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ भने माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्य शतप्रतिशत पूरा भएको छ,” प्रवक्ता पौडेलले भने, “समग्रमा हेर्दा हामीले लक्ष्यको ९९.३५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं ।”
प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २ सय ५१ स्थानमा यसअघि नै सम्झौता भई काम अगाडि बढेको थियो । त्यसैगरी काठमाडौं उपत्यका बाहेकका अन्य ६६ जिल्लामा पनि २० एमबीपीएसको ननडेडिकेटेड ब्रोडब्यान्ड सेवा विस्तारका लागि सम्झौता भइसकेको छ । यी परियोजना समयमै सम्पन्न हुँदा सबै सामुदायिक विद्यालयमा चालू वर्षभित्रै ब्रोडब्यान्ड इन्टरनेट पु-याउने लक्ष्य पूरा भएको हो । डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनका लागि अप्टिकल फाइबर विस्तारमा सरकार आक्रामक देखिएको छ ।