‘एमसीसी पास गराउनका लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ’ : मीन विश्वकर्मा «

‘एमसीसी पास गराउनका लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ’ : मीन विश्वकर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् । उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने टिप्पणी गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुक यतिवेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ । विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । यो सरकारसामू एउटा चूनौति आयो । एमसीसी पास गराउन प्रधानमन्त्री लागेका छन् । एमसीसीबारे माधव नेपालले पहिलो पत्र लेखेको हो । एमसीसीमा आवद्ध हुन पाउँ भनेर । झलनाथ खनाल, बाबुराम भट्टराई उहाँहरू प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रियामा सहभागी हुनुभएको छ, तर यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भैसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो ।’
साक्षात्कारमा बोल्दै उनले एमसीसी देशको हितमा भएको उल्लेख गरे । उनले थपे, ‘एमसीसी सम्झौता पारदर्शी छ । फागनु १६ गतेसम्म पास गर्नुपर्छ । सबै दल एकमत भएर जानुपर्छ । दल ठूलो होइन, देश ठूलो हो । देशको अन्तर्राष्ट्रिय छवि ठूलो हो । हामीले एमसीसी पास गराउनको लागि एमालेलाई अनुरोध गरेका छौं । अहिले छलफल चलिरहेको छ । गठबन्धन जोगाउँ र एमसीसी पास गराउँ भन्ने हाम्रो पहिलो शर्त हो । एमसीसी फेल गरेर गठबन्धनमा हामी बस्दैनौं ।’
उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने धारणा पनि राखे । उनले भने,‘एमसीसीलाई निवेदन हालेको पनि कांग्रेसले होइन । एमसीसी नेपाल र नेपालीको हितमा छ । त्यही भएर हामीले सम्झौतामा हस्ताक्षर गरेको हो । सडकमा नौटंकी र जात्रा देखाईयो । एमसीसी ठिक छ कि छैन भनेर पढ्नुहोस । अनुदानको विरोध गर्नुहुँदैन् । ऋणमा रमाउने, अनुदानमा गाली गर्ने चरित्र सँगै जान सक्दैन् ।’
उनले एमसीसी पास गराऔं भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारम्बार भनिरहेको सुनाए । उनले भने, ‘संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीले पनि अहिले म तपाईँहरूलाई बाहिर जानुहोस् भन्न चाहन्नँ भन्नुभएको छ, यो भनेको त सबैले बुझ्छन् नि, जहाँ कमलो त्यही हिर्काउने काम गर्नुहुँदै् । अहिले एमसीसी सदनमा टेबुल भएको छ, सभामुखले म रेफ्री हुँ भन्नुभएको छ । साना स्वार्थमा दलहरू फस्नुहुँदैन् ।’
उनले अहिले एमसीसीलाई लिएर कांग्रेस ‘हाम्रो घरमा कोही काम गर्ने भएनन, बाहिरको आउनुहोस भन्ने अवस्था’ मा पुगेको पनि सुनाए । उनले भने, ‘अहिले एमसीसी पास गराउनको लागि गठबन्धनभन्दा बाहिर जानुपर्ने अवस्था पनि छ, अब एमसीसी पास गराउनको लागि एमालेको शर्त छन् । त्यसमा छलफल गरौं । मिलाउँ । निकास खोजौं । एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउनुहुन्छ ।’
पूर्वमन्त्री कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन् । उनले भने, ‘जहाँसम्म एमसीसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यसप्रकारको सम्झौता होइन । यो विकास परियोजना हो । कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भइन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ । यो जो अन्तर्राष्ट्रिय सहयोग छ, यो नेपालको हितमा छ । यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन् । यसमा हामी स्पष्ट छौं । एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन् । सरकारले एमसीसी पेश गरिसकेको छ । सरकाले पेश गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो । उहाँहरूले सरकार छोेडेपछि एमालेले निर्णय गर्छ ।’
अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरू सरकारमा सहभागी भएका दलहरू नै बढी जिम्मेवार हुने उनको भनाइ छ । उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई लिएर कडा आपत्ति जनाए ।
उनले भने,‘सरकारमा उनीहरू किन सामेल भएका त ? एमसीसी कार्यान्वयन भयो भने अमेरिकी सेना आउँछ भनेर भनिएको छ, कसले भन्यो अमेरिकी सेना आउँछ भनेर ?, यो गलत हो । एमसीसीको पैसा सुरक्षामा प्रयोग गर्न पाइँदैन भनेर सम्झौतामा स्पष्ट रुपमा भनिएको छ । एमसीसी नेपालको कानुनभन्दा माथि छैन् । यो सम्झौताबारे भ्रम सिर्जना गर्नुहुँदैन । एमसीसीबारे दफाबार छलफल गर्नुपर्यो नि। कुनै परियोजना अघि नबढाउने ? भ्रमपूर्ण कुरा सिर्जना गर्नुहुँदैन् । नेपालको राजनीति भनेको जिम्मेवार राजनीति हुनुपर्छ । उत्तरदायी लिनुपर्छ । विषयवस्तु छरिदिने अनि निर्णयमा पुग्न नदिने । निर्णयमा पुग्न नदिएपछि विषयवस्तु छरियो । यो गलत हो ।’
कुनै विषयवस्तु उठाईदिने अनि आफ्नो विषय लगेर भ्रम सिर्जना गरिरहने र त्यसको नाममा राजनीति गर्ने काम भैरहेको भन्दै उनले गुनासो पोखे । उनले भने,‘एमालेको चाहना के हो भने अब एमसीसीको विषयमा लामो छलफल र बहस भयो । भोलिबाट संसदमा छलफल हुन्छ । निर्णयमा को कहाँ उभियो ? भन्ने कुरा अब मतदान भएपछि थाहा हुन्छ । भ्रम राख्नु हुँदैन् । अन्यौलमा राख्नुहुँदैन् । जनता ठगी गर्नुहुँदैन् । सरकारको निरन्तरता हो भने एमसीसीको पक्षमा माओवादी र नेकपा (एकीकृतले पनि मतदान गर्नुपर्यो नि । एमसीसीको पक्षमा भोट नहाल्ने भए दाहाल र माधव नेपालले सरकार छोड्नुपर्छ । अहिले १४ जना गैरसांसद छन् । यसकारण हामीले संसद् अवरद्ध गरेको हो । ढाँटेर, छलेर अबको राजनीति चल्दैन् । जनतालाई ठग्ने काम नगरौं ।’
पूर्वसांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने पनि बताए ।
आफूहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनुको कारण रहेको पनि खुलाए । उनले भने, ‘लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि यो सरकार गठन गरेको हो । यो सरकार अरु बेलोको जस्तो होइन । यो सरकारमा हामी हट्ने कि बस्ने, यो मुख्य विषय होईन ।’
उनले एमसीसीलाई लिएर आफूहरू र कांग्रेसको एजेण्डा नमिलेको पनि सुनाए । उनले भने,‘हामी एमसीसीको विपक्षमा छौं । एमाले त अहिले सबैभन्दा बढी खुसी हुनुपर्ने हो । एमसीसी पास गर्न एमालेले खुशी हुनुपर्ने हो । यो त खुशीको विषय हो नि, उसको लागि । अहिले एमसीसी सदनमा टेबुल भएको छ। प्रधानमन्त्री अहिले देउवाजी हुनुहुन्छ, उहाँले माओवादसँग हाम्रो सहकार्य हुँदैन भनेर उहाँले भन्नुभयो भने हामी त्यत्तिकै सरकारबाट निस्किन्छौं । यो सरकार विषम परिस्थितिमा बनेको हो । आफंै हामी गैरजिम्मेवारीपन देखाएर सरकारबाट हट्दैनौं ।’
युवा नेता केशव झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकाले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘एमसीसीको बारेमा हामीले आफ्नो धारणा पहिलेदेखि नै सार्वजनिक गरेका छौं । एमसीसीकै पक्षमा मतदात गर्ने भनेर धारणा व्यक्त गरेका छौं । यसमा ईफ र बटको कुरा छैन् । पछिल्लो समय एमसीसीलाई धेरै गिजोल्ने काम भएको छ। देशलाई माया गर्ने व्यक्तिहरू छन्, सबैले आफ्नो धारणा प्रष्ट रुपमा राखेका छन् । अमेरिकाको सेना आउँछ भनेर गलत हल्ला फैलाईएको छ । हावादारी गफ गर्नुहुँदैन् । गलत हल्ला फैलाउनुहुँदैन् । राष्ट्रघाती काम त मुलुकलाई आत्मनिर्भर हुन नदिने अनि मिलीजुली खानेहरूले गरेका छन् ।’
झाले यो एमसीसी राष्ट्रको हितमा रहेको सुनाए । उनले भने,‘यो विकास परियोजना हो । पूर्वाधार क्षेत्रमा विकास हुन्छ। कानून बनेपछि निर्धारित समयमै काम हुन्छ। हामीले एमसीसीको पक्षमा मत हाल्ने भनेका छौं । अहिले गठबन्धनको प्रष्ट बहुमत छ । अहिले गठबन्धनमा गलत प्रवृत्ति पनि देखियो । एमसीसीलाई लिएर सरकारमा हुँदा, हाउसमा एकखालको कुरा गर्ने, अनि सडकमा अर्कै कुरा गर्ने । यदि प्रधानमन्त्रीलाई सहयोग चाहिएको छ भने गठबन्धन तत्काल विसर्जन गर्नुपर्छ । यो गठबन्धन कायम राखेर काम छैन् । नयाँ परिस्थिति निर्माण गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्