इलाममा तारा एयरको पहिलो व्यावसायिक उडान

यती एअरलाईन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टमा बुधबारबाट व्यावसायिक उडान सुरु गरेको छ ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलत भएको हो । तारा एयरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एयरपोर्टमा अवतरण गरेको थियो ।
ताराले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा पक्की धावनमार्ग बन्नु अघि २०७५ जेठ २१ गते तारा एअरले नै पहिलो परीक्षण उडान गरेको थियो ।
बुधबारबाट व्याबसायिक उडान सुरु गरेको तारा एयरले आइतबार र बिहीबार हप्तामा दुईदिन नियमित उडान गर्ने जानकारी तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले यो गन्तव्यमा प्रमोशनल फेयर अन्तर्गत ८ हजार ७ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ । काठमाडौंबाट इलामसम्मको उडान दुरी करिव एक घण्टाको हुने जनाइएको छ ।
पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहसहितको पर्यटन व्यबसायी लगायत यात्रु तथा तारा एयरका प्राविधिक टोली गरी १४ जना यात्रुहरू पहिलो व्यावसायिक उडानमा सहभागी भएका थिए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलगायत पर्यटन व्यवसायीले उक्त उडानमा सहभागीहरुलाई स्वागत गरेका थिए ।