Logo

कृषिसम्बन्धी बृहत् प्रदर्शनी १३ फागुनदेखि

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले यो वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने भएका छन् ।
यही फागुन १३, १४ र १५ गते बागमती प्रदेशअन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा मेलाको आयोजना हुने भएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।
प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाई, विषादीरहित कृषिलगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
प्रदर्शनीमा साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने छ । प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्