Logo

कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान आफ्नै घर अगाडि निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए । लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले बताए ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । बा३च ७७४१ नम्बरको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, संगीतकार, गीत संकलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए । ‘कलकत्ते काइँयो केश मेरो बांगोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प-यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेएका लामाले लोकगीतको शब्द संकलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हास्य टेलिशृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्