Logo

सञ्चार क्षेत्रमा पत्रपत्रिकाको महत्व

पत्रपत्रिका सञ्चारको भरपर्दा साधन हुन् । पत्रपत्रिकालाई देश विकासको चौथो अङ्ग पनि भनिन्छ । आधुनिक युगमा व्यक्ति, समाज तथा राष्ट्रको उन्नति हुनका लागि सञ्चारका माध्यमले अहम् भूमिका खेलेको छ । पत्रपत्रिकाको अभावमा व्यक्ति तथा राष्ट्रले राजनीति, खेलकुद, कृषि र अन्य कुराहरू थाहा पाउन सक्दैन ।
पत्रपत्रिकाहरूले विश्वको कुनै एक कुनामा घटेको नयाँ–नयाँ घटनाको विवरण विश्वभरि नै फिँजाउने काम गर्छ । पत्रपत्रिकाले विभिन्न सामग्रीहरू छापेर देश विकासको कार्यमा ठूलो टेवा पु-याएका हुन्छन् । अहिलेको युगमा पत्रपत्रिकाबिना व्यक्ति, समाज तथा राष्ट्रको उन्नति हुन सक्दैन ।
आधुनिक युगमा पत्रपत्रिकाले खेल्ने भूमिका ज्यादै प्रभावकारी देखिन्छ । अहिले पत्रपत्रिकाबिना कुनै पनि क्षेत्रको विकास हुन सम्भव छैन । त्यसैले हरेक क्षेत्रको विकासका लागि मानिसले पत्रपत्रिका नपढी हुँदैन । पत्रपत्रिकाहरू मानिसका लागि ज्ञान आर्जन गर्ने भरपर्दा स्रोत पनि हुन् । अहिलेको युगमा पत्रपत्रिका नपढ्ने मानिस देश विदेशमा भइरहेका गतिविधिबारे अनभिज्ञ नै रहन्छ । त्यसैले पत्रपत्रिकाहरू पढ्नु मानिसको राम्रो बानी हो ।
पत्रपत्रिका भनेका विविध सामग्रीले भरिएका पोका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका हरेक पक्षलाई यिनीहरूले समेटेका हुन्छन् । पत्रपत्रिकामा देश–विदेशका राजनीतिक गतिविधि, खेलकुद, आर्थिक गतिविधि, कृषि र उद्योग–व्यवसाय तथा व्यापार, धर्म–संस्कृति, इतिहास आदि हरेक विषयलाई समेट्ने खालका सामग्रीहरू छापिएका हुन्छन् । यी विभिन्न विषयमा जानकारी हासिल गरेर हरेक क्षेत्रमा अघि बढ्न सजिलो हुने भएकाले आधुनिक युगमा पत्रपत्रिकाको ठूलो योगदान रहेको छ ।
अहिलेको युग भनेको प्रतिस्पर्धाको युग हो । आज विश्वमै औद्योगिक विकासको गति तीव्र रूपमा बढिरहेको छ । विभिन्न उद्योगहरूले आफ्ना उत्पादनहरू बजारमा ल्याइरहेका छन् । विज्ञापन वा प्रचार–प्रसार नभई कुनै पनि वस्तुले बजार पाउन सक्दैन । त्यसैले औद्योगिक उत्पादनहरूको प्रचार–प्रसार गर्नुपर्छ । यसरी प्रचार–प्रसार गर्नका लागि पत्रपत्रिकाकै आवश्यकता पर्छ ।
हाम्रो देशमा विभिन्न किसिमका पत्रपत्रिकाहरू प्रकाशित हुन्छन् । काठमाडौंबाट दैनिक रूपमा प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रिकाहरूमा गोरखापत्र, कान्तिपुर दैनिक, कारोबार दैनिक, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, नयाँ पत्रिका आदि प्रमुख पत्रिकाहरू छन् । यीमध्ये गोरखापत्र नेपालको सबैभन्दा पुरानो सरकारी राष्ट्रिय पत्रिका हो ।

प्रतिक्रिया दिनुहोस्