Logo

एमसीसी अनुमोदन हुन्छ : सहमहामन्त्री पाण्डे

गुल्मी-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले एमसीसी अनुमोदन हुने बताएका छन् । नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहेका पाण्डेले एमसीसी संसद्बाट अनुमोदन हुने दाबी गरेका हुन् ।
‘संसदीय प्रक्रिया पूरा गरेर एमसिसी अनुमोदन हुन्छ । गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने गरेर नेपाली कांग्रेस अगाडि बढेको छ,’ उनले भने । पाँच दलिय गठबन्धनप्रति नेपाली कांग्रेसको पूर्ण विश्वास रहेको भन्दै प्रचण्ड र माधव नेपाल प्रति कांग्रेसको पूर्ण निष्ठासहित एकता र मेलमिलापको भाव आफूहरुले राखेको उनले बताए ।
सरकारमा सहभागी गठबन्धनकै दलले एमसीसीको विरोध गरिरहेको प्रसंगमा पाण्डेले सरकारमा बसेर सरकारको कार्यसूची र ध्येयमाथि अवरोध सिर्जना गर्नुले गठबन्धनप्रति विश्वास घट्न सक्ने बताए । एमसीसी जुनसुकै आधार र कोणबाट पनि विकास निर्माणको योजना भएकोले सबै कार्यकर्ताले एमसीसीको बारेमा अध्ययन गर्न पनि उनले आग्रह गरेका छन् । चिनियाँ समर्थकहरुले एमसीसीको विरोध गर्नुले आफ्नो देशको विकासमा अवरोध आउने भएकोले एमसीसीमा कसैले आपत्ति जनाउनु आवश्यक नरहेको सहमहामन्त्री पाण्डेले बताए ।
नेपाली कांग्रेस गुल्मीले ‘गुल्मी कांग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अन्तर्गत सदरमुकाम तम्घासमा एक दिने बृहत कार्यकर्ता प्रंशिक्षण कार्यक्रम राखेको छ । प्रशिक्षकको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेल र नेपाली कांग्रेस कास्कीका नेता देबराज चालिसे पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्