क्रेडिट सुविधामा कडाइ गर्ने निर्णय पुनर्विचार गर्न उद्योगीको माग «

क्रेडिट सुविधामा कडाइ गर्ने निर्णय पुनर्विचार गर्न उद्योगीको माग

रकम तिरेर मालवस्तु मगाउँदा कुनै कारण मालवस्तुको गुणस्तर र तौलमा गडबढ रहेछ भने त्यसलाई फिर्ता पठाउन सकिन्न । यसपछि पैठारीकर्ता फस्नुको विकल्प छैन । यस्ता धेरै घटना विराटनगरमा भइसकेका छन् । तर भारतबाट उधारोमा पैठारी गरिएका सबै मालवस्तु अहिलेसम्म गुणस्तरहीन आएका छैनन् । यदि पुनरावलकोन कडाइतर्फ राष्ट्र बैंक अगाडि बढेमा उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउने उपाध्यक्ष नबलकिशोर काबरा बताउँछन् ।

विराटनगर-नेपालका उद्योगले अधिकांश कच्चा पदार्थ भारतसहित विभिन्न मुलुकबाट आयात गर्दै आएका छन् ।
यसरी आयात गर्ने वस्तुमध्ये धेरैजसो भारतबाटै ल्याउने गरिएको छ । तर, नेपाल राष्ट्र बैंकले भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्ने व्यवस्थामा कडाइको संकेत गरेपछि पूर्वका उद्योगी व्यवसायी चिन्तित बनेका छन् ।
राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुनरावलोकन गर्ने तयारी गरेपछि उद्योगी व्यवसायी चिन्तित बनेका हुन् । उनीहरूले यदि क्रेडिट सुविधामा कडाइ गरिए उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने बताएका छन् । भारतसँगको व्यापारमा राष्ट्र बैंकले क्रेडिट सुविधा रोकिदिए भारतीय कच्चा पदार्थमा आधारित नेपालका अधिकांश उद्योग बन्द हुने नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको भनाइ छ ।
“भारतको कुनै उद्योगी तथा व्यापारीले ६ महिना उधारोमा सामान दिन्छु भन्न भने राष्ट्र बैंकको टाउको दुखाइ किन ?” घिमिरेले प्रश्न गर्दै भने, “क्रेडिट सुविधामा कडाइ गर्दा न नेपाल सरकारलाई फाइदा हुन्छ न बैंकलाई न त उद्योगीलाई फाइदा भयो । यसलाई राष्ट्रबैंकले तत्काल पुनर्विचार गर्नुपर्छ । आखिर एलसीबाट पेमेन्ट जाने हो । अहिले नै ह्वान्डेट प्रसेन्ट पेमेन्ट गर भन्नु गलत हो ।”
परिसंघका उपाध्यक्ष नबलकिशोर काबराले नेपालमा ६५ प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ र सहायक कच्चा पदार्थसहित प्याकिङ सामग्री पनि भारतबाटै आयात गरिने जानकारी दिए । राष्ट्र बैंकले भारतसँगको क्रेडिट सुविधा पुनरावलोकन गर्ने भन्ने खबरले नेपाली उद्योगी चिन्तित भएको प्रतिक्रिया दिए । “अहिले विभिन्न समस्याले उद्योगी व्यवसायीहरू प्रताडित भइरहेका बेला राष्ट्र बैंकले क्रेडिट सुविधामा कडाइ गरे धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,” उपाध्यक्ष काबराले भने, “नेपाली व्यवसायीले उधारोमा पाएँ भन्दैमा नेपालमा मालवस्तु डम्प गर्न नल्याउने र उधारोमा मालवस्तु ल्याएर त्यसको भुक्तानी बैंकिङ च्यानलबाट गर्दा सरकारलाई किन टाउको दुखाइ भएको बुझ्न सकिएको छैन ।” उधारोमा भारतबाट मालवस्तु मगाउँदा नेपाली व्यवसायीको जोखिम र लागत दुवै कम पर्ने उपाध्यक्ष काबराको भनाइ ।
उनका अनुसार रकम तिरेर मालवस्तु मगाउँदा कुनै कारण मालवस्तुको गुणस्तर र तौलमा गडबढ रहेछ भने त्यसलाई फिर्ता पठाउन सकिन्न । यसपछि पैठारीकर्ता फस्नुको विकल्प छैन । यस्ता धेरै घटना विराटनगरमा भइसकेका छन् । तर भारतबाट उधारोमा पैठारी गरिएका सबै मालवस्तु अहिलेसम्म गुणस्तरहीन आएका छैनन् ।
यदि पुनरावलकोन कडाइतर्फ राष्ट्र बैंक अगाडि बढेमा उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउने उनको भनाइ छ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा साना–ठूला मिलाएर करिब ६ सय उद्योग सञ्चालनमा छन् । धेरैजसो भारतीय कच्चापदार्थमा आधारित उद्योग हुन् ।
तरलता अभावको समस्या देखाउँदै अहिले बैंकहरूले ऋण दिन सकिरहेका छैनन् । बैंकले ऋण लगानी नगर्दा नयाँ उद्योग थपिने सम्भावना छैन । “एकातिर बैंकले ऋण दिन सकेको छैन भने अर्कातिर उद्योगीले पाइरहेको क्रेडिट सुविधा रोक्न खोज्नु सरासर उद्योग बन्द गर भने जस्तै भइरहेको छ,” मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, “यस्तो अवस्थामा कुन उद्योगीले नयाँ उद्योग स्थापना गर्ला ? भएका उद्योग नै बचाउन गाह्रो भइरहेको छ ।”
राज्यको सुविधा पाएका भारतीय उत्पादनसित नेपालका उत्पादनले प्रतिस्पर्धा गर्दा झनै समस्या रहेको उनी सुनाउँछन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा अघि सारेको क्रेडिट सुविधामा पुनरावलोकनको निर्णयमा पुनर्विचार गर्नुपर्ने माग राख्छन् । उनका अनुसार यहाँका रड, जस्तापाता, तेल, मैदा, जुटलगायतका उद्योगले भारतबाटै कच्चा पदार्थ आयात गर्छन् । अझ जुट उद्योगले करिब ७० प्रतिशत कच्चा पदार्थ भारतबाटै आयात गर्ने गरेका छन् । उत्पादित ९५ प्रतिशत तयारी जुट भारत नै निर्यात हुने गरेको छ ।
“राष्ट्रबैंकले के सोचेर यस्तो निर्णय गरेको हो मैले बुभ्mन सकिरहेको छैन” राठी भन्छन्, “राष्ट्र बैंकले पुनर्विचार नगरे धेरै उद्योगमा ताला लगाउनुपर्ने अवस्था आउन सक्छ ।”
व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीका अनुसार भारतीय व्यवसायीले नेपाली व्यवसायीलाई दिइरहेको क्रेडिट सुविधा संसारमै कतै नभएको सुविधा हो । उनले भने, “सम्भवतः संसारका अन्य मुलुकका बीच यस्तो सुविधा छैन होला । यो सुविधा हाम्रा हितमा छ । त्यसैले हामीले यसको अधिकतम उपभोग गर्नुपर्छ ।” उनका अनुसार क्रेडिट सुविधाअन्तर्गत नेपालका उद्योगी व्यवसायीले भारतीय व्यवसायीसित निश्चित अवधिको उधारोमा मालवस्तु मगाउँछन् । यसरी मालवस्तु ल्याउँदा नेपाली व्यवसायीले भारतीय आपूर्तिकर्तासँग आफूले मालवस्तु पाएको निश्चित समयावधिभित्र तिर्ने गरी सम्झौता गरेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्