Logo

ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता

आयोजकको टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले मंगलबारबाट सुरु भएको ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । १ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ८५ रन रन जोड्न सक्यो । मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोड्दा साना प्रविनले १५, कञ्चन श्रेष्ठले १० रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । किफायती बलिङ गरेको सुदुरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट निकाल्दा कविता कुवँरले दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिएकी थिइन् । यस्तै ईश्वरी विष्ट र सम्झना खड्काले एक–एक विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन । रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरेकी थिइन् । यस्तै रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे । सुदूरपश्चिमको पाँच विकेट लिने क्रममा मेयर्स–११ की खुसी डंगोलले सर्वाधिक २ विकेट हात निकाल्दा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्मचार्यले एक–एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्र रहेको टोली प्र्रदेश नं १ लाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । प्रदेश १ ले दिएको ५८ रनको झिनो लक्ष्य एपीएफले ११.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग-यो । एपीएफको जीतमा ज्योती पाण्डेले सर्वाधिक २३ रन जोड्दा रोमा थापा १५ तथा ममता चौधरी २ रनमा अविजित रहे । राजमती ऐरी ४ तथा कप्तान सिता राना मगर १ रनमा पवेलियन फर्किएका थिए । बलिङ तर्फ प्रदेश १ का लागि सवनम राईले २ तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाएको थियो । प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको पारी खेल्दा अन्यले सम्झनलायक प्रदर्शन गरेनन् ।
प्रदेश नं १ लाई सस्तैमा समेट्ने क्रममा एपीएफकी करुणा भण्डारीले ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गर्दा करुणाले ३ मेडन ओभर राख्दै मात्र ५ रन खर्चिएकी थिइन् । राजमती ऐरीले २ विकेट लिदा रेखा रावल र सुमन विष्टले एक–एक विकेट आफ्नो नाममा लेखाए ।
प्रतियोगितामा बुधबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ र सुदुरपश्चिम प्रदेश तथा दिनको दोस्रो खेल आयोजकको टोली लतितपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्