Logo

दुर्लुङकोटलाई पर्यटकीय गन्तव्य बनाइँदै

पर्वतको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटलाई पर्यटनको गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि काम अघि बढाएको हो । कुश्मा नगरपालिका–३ मा रहेको जिल्लाकै ऐतिहासिक स्थल दुर्लुङकोटमा मल्लकालीन राजाहरुको दरबार रहेको थियो । दरवार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने राजाहरुको परम्परालाई यहाँका स्थानीयले अझै पनि निरन्तरता दिँदै आएका छन् ।
उक्त कोटमा बडादसैं, चैत्रे दसैं र जेष्ठ अष्टमीका दिनमा भव्य पूजाआजा हुने गर्दछ । मल्लकालिन राज्यदेखिको सभ्यता बोकेको दुर्लुङकोटको पर्यटकीय सम्भावनाको विकास गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेलसहितको टोली गन्तव्य पहिचानका लागि अध्ययन गरेको छ ।
कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको यो कोटबाट गण्डकी प्रदेशका बागलुङ, कास्की, म्याग्दी, गुल्मी, स्याङजा र पर्वतका विभिन्न भागको अवलकोलन गर्न सकिन्छ । यहाँ १८ फिट चौडाई र २० फिट अग्लो भ्यू टावरसमेत निर्माण गरिएको छ ।
सदरमुकाम कुश्मा बजारदेखि यातायातको सहज सुविधा भएका कारण उक्त क्षेत्रमा आउने पर्यटकहरु वर्षेनि बढ्दै गइरहेका कारण यो क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिने गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कँडेलले बताए ।
यहाँ दुर्लुङकोट सँगै चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ–हलहले–क्याङ–घोरेपानी पदमार्गसमेत अवस्थित रहेको छ । गुरुङ समुदायको बस्ती रहेको दुर्लुङमा पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको नगरप्रमुख रामचन्द्र जोशीको भनाइ रहेको छ ।
यस क्षेत्रको विकासका लागि केही वर्षअघि महायज्ञसमेत लगाएर रकम संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्