Logo

स्याङ्जाको वालिङ मकै पकेट क्षेत्र बन्दै


स्याङ्जा-कृषिमा आत्मनिर्भर बनाउन स्याङ्जाको वालिङ नगरपालिकाले मकैको बिऊ वितरण गरेको छ ।
नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन ‘अरुण–२’ नामक मकैको बिऊ वितरण गरेको छ । खाद्यन्न वालीको उन्नत बिऊ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्र्तगत वालिङलाई बिऊ वितरण गरिएको हो । नगरपालिकाले चालु सिजनमा २५ सय केजी अरुण–२ नामक मकैको बिऊ कृषकलाई वितरण गरेको छ । धान फल्ने खेतमा ९० दिनभित्र तयार हुने यो मकै कृषकका लागि आयआर्जनमा समेत निकै फलदायी हुने नगरपालिकाका कृषि विज्ञहरुले बताएका छन् । मकै खेतीको लागि यहाँको माटो सुहाउँदो भएकाले वालिङ नगरपालिकाको कृषि शाखाले मकै खेती छनोट गरी बिऊ वितरण गरेको जनाएको छ ।
मकैको बिऊ खोज्न बाहिरी जिल्ला जान नपर्ने अभियानमा नगर लागेको वालिङ नगरपालिकाका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले बताए । “मकै खेतीको राम्रो सम्भावना रहेको वालिङलाई मकै पकेट क्षेत्र बनाउँदै छौं” लेखा प्रमुख अर्यालले भने, “मकैको उत्पादकत्वमा वृद्धि गरी मकै पकेट नगरीको रुपमा विकसित गर्ने योजनामा रहेका छौं ।” यसका लागि संघीय सरकारले सर्शत ३५ लाख अनुदान समेत दिएको उनले बताए ।
पछिल्लो समय बाँदरको समस्याले कृषकहरुले मकै लगाउन छाडेका छन् । मकै खेती नै लोप हुने अवस्थामा जान थालेपछि बाँदरको समस्या हल गर्दै मकै संरक्षण अभियानमा कृषकलाई उत्प्रेरीत गर्न नगरले यो योजना अगाडी सारेको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको भौगोलिक अवस्था पनि ३ तहको तापक्रम रहेको छ । उच्च, मध्यम र समथर भागमा छुट्टाछुट्टै तापक्रम भएकाले मकै उत्पादनमा मौसम अनूकुल रहेको छ । छिटो पाक्ने र खाद्यतत्व पनि बढी हुने यो मकै बसन्ते मकैका नामबाट पनि परिचित छ ।
वसन्त ऋतुमा फल्ने मकै भएकाले पनि यस मकैको नाम वसन्ते मकै रहेको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास अर्यालले बताए । “अहिले १२ सय रोपनीमा यो मकै लगाउने छौं” उनले भने, “गुणस्तरीय बिऊ उत्पादन गरी मकै उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य हाम्रो हो ।” अहिले सरकारको ५० प्रतिशत अनुदान र कृषकले ५० प्रतिशत लागतमा मकैको विउ वितरण गरेको उनले बताए ।
नगरपालिकाले खेत र बारीमा फल्ने दुई जातको बिऊ वितरण गर्ने योजना बनाएको छ । बारीमा फल्ने ‘मनकामना–३’ नामक जातको मकै फागुनको अन्त्यतिर वितरण गर्दैछ । यो मकै भने १ सय ४२ दिनमा तयार हुने कृषि शाखाले जनाएको छ । नगरपालिकाले बिऊ मकै संरक्षण गर्न नगरका ९, ११ र १४ नम्वर वडालाई छनौट छ । गुणस्तरीय र उत्पादकत्वमा वृद्धि गर्न ३, ४ वर्षमा मकैको बिऊ भने परिवर्तन गर्नुपर्ने कृषि शाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्