बाँदरले दुःख दिएपछि किसान सरकारी कार्यालय ढकढक्याउँदै

दोलखा-बाँदर, मृग, दुम्सीजस्ता वन्यजन्तुको संख्या वृद्धि भई किसानका बालीनाली खाने क्रम बढेपछि किसानहरू भेला भएर सरकारी कार्यालयको ध्यानाकार्षण गर्न पुगेका छन् । भीमेश्वर नगरपालिका र आसपासका किसानहरू जम्मा भएर ध्यानाकार्षण गराउन जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र भीमेश्वर नगरपालिका पुगेर किसानहरूले आफ्नो दुःख बताए ।
भीमेश्वर नगरपालिका–६ रामकोटका किसान माधवप्रसाद न्यौपानेले जंगल बढेपछि जंगली जनावर बढेको बताए । तर अहिले जंगली जनावरले किसानका खेतबारीमा आएर बालीनाली नष्ट गर्न थालेपछि किसानहरू खेती नै छाडेर हिँड्न थालेका छन् । अहिले धेरै खेतबारी बाँझै हुन थालेको किसानहरूको गुनासो छ ।
बाँदर बढेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई बाली लगाउन जति मेहेनत गर्नुपर्छ त्यसलाई जोगाउन पनि त्यत्ति नै सास्ती छ । आजभोलि बाँदरहरू जताजतै बढेका छन् कतिपय ठाउँमा पालो गरेर कुर्छन् । “घरघरमै छिरेर बाँदर पसेर मकैको झुत्तै लिएर जानथाल,” अर्का किसान ऋषि न्यौपानेले भने, “बाँदर कहिले नलाग्ने ठाउँमा अहिले त हुलका हुल आएर न त खेती गर्न पाइन्छ, न त भित्र्याउन अब हामी के गर्नु ?”
वन्यजन्तुले दुःख दिन थालेको कुरा स्थानीयस्तरमा जनप्रतिनिधिले पनि नसुनेका होइनन् । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार नगरपालिकाले बाँदर भगाउन स्थानीयस्तरमा वैकल्पिक उपायको रूपमा आविष्कार केन्द्रले बनाएको पड्किने मात्र प्लाष्टिकको बन्दुक पनि किनेर किसानलाई दियो । तर त्यो पनि प्रभावकारी भएन । स्थानीय तह पनि किसानका कुरा सुन्ने तर कसरी जोगाउने भन्नेमा अन्योल रहेको बताए ।
वन्यजन्तुकै पाकेको बाली भित्र्याउन नपाएपछि अहिले किसानहरू गाउँ छाड्ने क्रम बढ्दो छ । यसले गाउँ रित्तिँदै गएका छन् । उब्जाऊ हुने जग्गा जंगलमा परिणत भएका छन् । गाउँमै बस्ने किसान झन सास्ती भोग्न बाध्य छन् । बाँदरले किसानका घरमै पस्ने, आक्रमण गरेर घाइतेसमेत बनाउन थालेका छन् ।
वन अभियानकर्मी भोला खतिवडाका अनुसार वन्यजन्तु जसरी बढ्यो, त्यसको नियन्त्रण गर्न कानुनबाधक रहेको बताउँदै आएका छन् । तर राज्यले चाहने हो भने कानुनलाई पनि संशोधन गरेर भए पनि वन्यजन्तु नियन्त्रण र व्यवस्थापन गर्न सकिने उनले बताए । जंगलले धान्न सक्नेभन्दा बढी वन्यजन्तु व्यवस्थापन गरेर आम्दानी गर्न सकिने उनले उपाए सुनाए ।
वन र वन्यजन्तु बढ्दै गएपछि त्यसको सबैभन्दा बढी मर्कामा किसान परेका छन् । देशको सबैभन्दा बढी नागरिक आश्रित रहेको कृषि क्षेत्रबाट वन्यतन्तुकै कारण पहाडी क्षेत्रका खेतबारी बाँझो हुँदै जाँदा उत्पादन घट्दै गएको छ । यो समस्या केही वर्षदेखि झन समस्याको रूपमा बढ्दै गएकाले अब राज्यले कानुन संशोधन गरेर भए पनि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने र किसानलाई राहत दिन लाग्नुपर्ने देखिन्छ ।