लामाबगर–तिब्बत सीमा सडक निर्माण हुँदै «

लामाबगर–तिब्बत सीमा सडक निर्माण हुँदै

लामाबगरदेखि तिब्बत सिमाना पुग्ने सडकको कामले गति लिएको छ । उत्तर–दक्षिण नाकाको रूपमा रहेको लामाबगरको अप्ठ्यारो खण्डको काम सुरु भएको छ । सडकको काम सुचारु भएसँगै लामाबगरदेखि उत्तरी नाका खुल्नेमा स्थानीय आशावादी बनेका छन् ।
असोजदेखि विस्फोटक पदार्थको अभावमा काम सुचारु भएको थिएन । जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ व्यवस्थापनको निर्णय गरे लगत्तै शनिबारदेखि सडक खुलाउन विस्फोट सुरु भएको हो । अहिले सडकको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थल आसपास क्षेत्रको सडक ट्रयाक खोल्ने काम हुने सडक निर्माणमा खटिएका प्राविधिकहरूले जानकारी दिए ।
“अब सडक निर्माणले गति लिन्छ,” सडक निर्माणमा खटिएका प्राविधिक सुपरभाइजर शिव श्रेष्ठले भने, “विगतमा सरकार चुनावलगायतका विभिन्न काममा व्यस्त हुँदा विस्फोटक पदार्थको निर्णय भएको थिएन अहिले सरकारी तहबाट पनि निर्णय भयो ।” अब केही दिनमै कामदारको संख्या पनि बढाउने र उपकरण पनि थपिने उनले बताए ।
माथिल्लो तामाकोसी आयोजनाको बाँध क्षेत्र नै सडक निर्माणको सबैभन्दा कठिन भीर हो । बाँधको दायाँपट्टिको भीरमा सडक निर्माण कठिन भएकाले ४ वर्षअघि नै आयोजनाकै परामर्शदाता नरकन्सल्ट–ल्याह्मेर इन्टरनेसनल र ठेकेदार कम्पनी चिनीयाँ सिनो हाइड्रो कर्पोरेसनको संयुक्त अध्ययनमा ९ सय मिटर सुरुङमार्गको डिजाइन भएको थियो । सी आकारको सुरुङको डिजाइन सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर फाइल रोकिएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा भएपछि तिब्बतीयन सीमा क्षेत्रसम्म पुग्ने बाटोसमेत बन्द हुन्छ । आयोजना सञ्चालनमा आएपछि बाँधमा पानी भरिँदा बाटो बन्द हुने हुँदा आयोजना पूरा नहँुदै उक्त सडक खोल्नु पर्ने बाध्यता छ । “बाँध भरिएपछि हिँड्ने बाटो पनि बन्द हुन्छ, बाँधलाई असर गर्ने हुँदा सडकको बाम गर्न पनि कठिन हुन्छ,” माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, “बाँध भरिनुअघि नै काम सके राम्रो हुन्छ अन्यथा बाँधको सुरक्षालाई समेत ध्यान दिँदा काम गर्न अत्यन्तै जोखिम छ ।”
माथिल्लो तामाकोसी आयोजनाका अधिकारीहरुले लामाबगर आउँने प्रधानमन्त्री, मन्त्री, विभागीय अधिकारीहरुलाई बाँध प्रभावित क्षेत्रको सडक चाँडै खोल्न पटकपटक अनुरोध गर्दै आएका छन् । लामाबगर आउँदा आश्वासन दिए तापनि काममा प्रगति भने हुन सकेको छैन । आयोजनाले आउँदो असार–साउनमा आयोजना सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको छ ।
सडक डिभिजन कार्यालयले लामाबगर–तिब्बत सिमा सडकको रूपमा पटकपटक ठेक्का आव्हान गरेर काम गराउँदै आएको छ । विगतमा कठिन भीरमा विस्फोटक पदार्थ, निर्माण व्यवसायीको लापारबाहीले सोचेअनुसार काम हुन सकेको थिएन । अहिले निर्माण व्यवसायीले कामप्रति चासो राखेकाले समयमा काम हुनेमा आशावादी भएको डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख अशोक तिवारीले जानकारी दिए ।
सडक विभागले अहिले ८ किमिका लागि ठेक्का लगाएर काम गरिरहेको छ । निर्माण व्यवसायीले लामाबगरको सशस्त्र प्रहरी क्याम्प बसेको पुलदेखि साँढे २ किमिसम्म माटो कटिङ गरेर भीरमा ड्रिलिङ गरेर प्वाल खोपिसकेको छ । निर्माण व्यवसायीका तर्फबाट साइटमा कार्यरत गणेश बस्नेतले अहिलेसम्म ४ हजार ५ सय प्वाल पारिसकेको जानकारी दिए । विस्फोटक पदार्थ आइसकेकाले अब २ साताभित्र विष्फोट गराएर सडक ट्रयाक प्रस्तावित सुरुङमार्गसम्म पुराउने योजना रहेको बताए ।
लामाबगर–तिब्बत सडक निर्माणका लागि लामा–समानान्तर जेभीले ठेक्का पाएको छ । उसले अहिले नेपाली सेनासँग बसेर कालिगण्डकी, कालिकोट र मनाङलगायतका काम गरेका अनुभवीलाई लामाबगर ल्याएको छ । सडक विभागले प्रस्तावित सुरुङमार्गभन्दा तल र माथिको सडकको ट्रयाक निर्माण गराएको छ । यसअघि वार्षिक ३ करोडसम्म बजेट फ्रिज हुँदै आएको छ ।
विस्फोटक पदार्थको स्वीकृति पाएसँग निर्माण व्यवसायीले सडक निर्माणको काम अब तीव्र रूपमा गर्ने बताएको छ । अब ५-६ महिनामा पाएको जिम्मेवारी पूरा गर्ने बताएको छ । व्यवसायीको प्रतिबद्धता अनुसार काम भए लामाबगरदेखि जुम खोलासम्मको भीरमा सडक ट्रयाक खुल्ने छ । तर माथिल्लो तामाकोसी बाँधस्थल क्षेत्रमा सुरुङ नबने हिँड्ने बाटोसमेत आयोजना पूरा भएपछि अवरोध हुनेछ ।
प्रदेश सभा र प्रतिनिधिसभामा राजनैतिक पार्टीका उम्मेदवारले यही सडक हुँदै उत्तरी नाका खोल्ने मुख्य मुद्धा बनाउँदै आएका थिए ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्