विश्वविद्यालयमा समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुनुपर्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका नवीनतम विषयहरूलाई अध्ययन, अध्यापन र अनुसन्धानको दायराभित्र पर्ने गरी समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुुनुपर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १३औं सभामालाई सम्बोधन गर्दै उनले विगतमा चलेका तर हाल आएर विद्यार्थीहरूको अभाव हुँदै गएका कतिपय शैक्षिक उपाधिहरूको पुनर्विचार गर्नुपर्ने बेला आएको बताउँदै पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता रहेको आंैल्याए ।
‘विश्वविद्यालयको गुणस्तर सुधार हुनका लागि विद्यालयस्तरको पठनपाठनमा सुधार आवश्यक हुन्छ,’ मन्त्री पौडेलले भने, ‘गणस्तर सुधारका लागि विश्वविद्यालयमा गुणस्तरीय पठनपाठनमार्फत योग्य शिक्षक उत्पादन गर्न सक्नुपर्छ ।’
उनले बौद्ध शिक्षा विकासमा सम्बन्धमा विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रमहरू विस्तार गर्दा प्रचलित कानुन र नियमका अतिरिक्त बौद्ध दर्शन कला, साहित्य, शिक्षा, नैतिकता र संस्कृति जस्ता बहुआयामिक विषयहरूलाई समावेश गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
ज्ञानलाई सीपसँग, सीपसँग रोजगारीसँग र रोजगारीलाई समृद्धिसँग जोड्ने गरी विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक क्रियाकलापहरू निर्देशित हुन जरुरी रहेको बताए ।