Logo

क्युआर कोडसहितको भिसा सेवा बिस्तार

अध्यागमन विभागले मुलकभरका सम्बद्ध कार्यालयबाट क्युआर कोडसहितको ‘सिस्टम जेनेरेटेड’ भिसा जारी गर्न थालेको छ । विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ क्युआर भिसा प्रणालीको सुरुवात गरेको हो ।
काठमाडौंस्थित विभागको केन्द्रीय कार्यालयबाट भने गएको असार १४ गतेबाट नै क्युआर कोडसहितको भिसा जारी हुन थालेको थियो । तर अन्य कार्यालयमा भने यो सेवा विस्तार हुन सकेको थिएन । सरकारले चालू आर्थिक वर्षको बजेटमा नेपालबाट जारी हुने परम्परागत भिसालाई विस्थापन गरी क्युआर कोडसहितको सिस्टम जेनेरेटेड भिसामा परिवर्तन गर्ने उल्लेख गरेको थियो । बजेटमा भएको व्यवस्थाअनुरुप आइतबारबाट क्युआर कोडसहितको भिसा मुलुकभरबाट जारी गर्न थालिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । उनले भने, “अब मुलुकभरका अध्यागमन कार्यालबाट क्युआर कोडसहितको सिस्टम जेनेरेटेड भिसामा जारी गरिनेछ । हाल दूतावासबाट जारी हुने भिसा भने प्रिन्टेड स्टिकर भिसा नै हुने भए पनि चाँडै दूतावासबाट ई–भिसामा रुपान्तरण गरी जारी गर्ने योजना छ ।”
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा क्युआर कोडसहितको सिस्टम जेनेरेटेड भिसा कार्यान्वयनको सुरुवात गरेका थिए । विगतमा हस्तलिखित भिसा स्टिकर टाँस गरी भिसा जारी भइरहेकोमा भिसाको आधिकारिकता जाँच क्युआर कोडबाट अनलाइन नै गर्न सकिने भई भिसाको विश्वसनीयताका साथै अध्यागमनको कार्यकुशलतामा अभिवृद्धि हुने अपेक्षा गरिएको विभागकोभनाइ छ । क्युआर कोडसहित छपाइ गरिएको भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको हुँदा नियमन गर्न सहज हुने जनाइएको छ ।
नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोमेट्रिक सूचना, फिंगरप्रिन्ट र फोटोसमेत भिसामा रहनेछ । यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रमस्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोल सम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था छ । सरकारले १४ माघ ०७६ मा नेपाली पोर्ट लागू गरेको थियो ।
क्युआर कोडसहितको सिस्टम जेनेरेटेड भिसा यही नेपाली पोर्टकै कार्यान्वयनस्वरुप लागू गरिएको हो । यसबाट नेपाली भिसाको दुरूपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विभागका महानिर्देशक भट्टराईले बताए ।
यसले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज हुने उनको भनाइ छ ।
विद्युतीय भिसा प्रणालीका सम्बन्धमा नयाँ व्यवस्थासँगै चरणबद्ध रूपमा विकास गर्दै अध्यागमन विभागलाई आधुनिकीकरण गर्दै जाने योजना रहेको विभागले जनाएको छ । क्युआर कोडसहितको भिसाले विदेशी नागरिकको अनुगमनमा अपेक्षित रूपमा प्रभावकारिता ल्याउन मद्दत गर्नेछ ।
विभाग र अन्तर्गतका कार्यालयबाट साविकमा जारी गरिँदै आएका भिसाहरू हस्तलिखित भएकाले भिसाको विवरण अस्पष्ट हुनुका साथै केरमेट भई दोहोरो लेखाइ हुनसक्ने र परम्परागत तरिकाले प्रिन्ट गरिने हुँदा सुरक्षाका उपाय अपेक्षित रूपमा प्रभावकारी नभएकोले दुरुपयोग हुनसक्ने जस्ता समस्या थिए । अध्यागमन विभागको एकीकृत सूचना प्रणाली नेपाली पोर्टबाट प्रिन्ट हुने गरी शुभारम्भ गरिएको नयाँ भिसा प्रणालीबाट भिसाको सुरक्षा र व्यवस्थापनमा सुदृढीकरण हुने अपेक्षा गरिएको अध्यागमन कार्यालय त्रिअविका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही बताए ।
क्युआर कोड भिसामा होलोग्राम र वाटरमार्क रहने, भिसा स्टिकरमा क्युआर कोड हुने जसमा भिसाको विवरण समावेश गरिएको हुने, क्युआर कोड रिडरको प्रयोग गरी सजिलै भिसाको आधिकारिकता र अन्य विवरण लिन सकिनुका साथै भिसाको विवरण प्रणालीबाट प्रिन्ट हुने हुँदा हातले केरमेट गर्न नमिल्ने हुन्छ । क्युआर कोडमा समावेश गरिएका विवरणहरू परिवर्तन गर्न नमिल्ने, भिसा नम्बरसमेत प्रणालीबाट सिर्जित गरिने हुँदा शुद्धता हुने, राहदानीको एउटा पेजमा तीन वटासम्म भिसा अटाउन सकिने भएकाले गर्दा उपयोगिता बढी भएको दाबी गरिएको छ । विभागबाट र विभाग अन्तर्गतका कार्यालयसहित करिब १ दर्जन कार्यालयबाट भिसा जारी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्