सिद्धबाबामा सुरुङ बनाउन कम्पनी छनोट

सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ । मूल सुरुङ ११ सय २६ मिटर लम्बाइको रहने सो सुरुङमार्ग निर्माणका लागि योग्य भएका चार कम्पनीबाट चाइना स्टेट छानिएको हो ।
पोस्ट क्वालिफिकेसन इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुने सुरुङमार्गका लागि चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको कबोल गरेको सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले बताए । सुरुङको डिजाइन कम्पनीले तयार पारेर विभागलाई पेश गर्ने र सो प्रस्ताव स्वीकृत भएपछि कम्पनीले निर्माण कार्य थाल्नेछ । आयोजनाको सम्झौता भने बाँकी रहेको महानिर्देशक सापकोटाले बताए ।
सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेस गरेकोमा चार कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत भएको थियो । तीमध्ये कम लागत कबोल गर्ने चाइना स्टेट छनोट भएको हो । सुरुङ निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब बजेटको सहमति दिएको भए पनि करिब ८ अर्बको हाराहारीमा लागत अनुमान गरिएको र सोही सिलिङको सीमा राखेर बोलपत्र आह्वान गरिएको थियो ।