Logo

गठबन्धन जोगाउन पौडेलको सक्रियता


एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । पौडेलले सोमबार सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिनका लागि पहल गर्न आग्रह गरेका छन् ।
यादवसँग भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसीबारे निर्णय लिने बताएको उनले जानकारी दिए ।
पौडेलले देशमा संकट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको बताए । उनले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकि सरकारले गरेको सहयोग भएको बताए । एमसीसीले विद्युत र सडक मार्फत नेपालको गरिबी हटाउन मद्दत पु¥याउने उनको भनाइ छ । एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उनले बताए । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उनले उल्लेख गरे ।
यसैबीच, नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएका छन् । वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन गरेको आग्रहको जवाफमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्