Logo

कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गरे । सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरूले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले एमसीसी सम्झौता गर्ने, त्यसलाई संसदमा टेवल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरूले विरोधसमेत नगरेको चर्चा गर्दै आपत्ति जनाए । एमसीसी संसद्मा टेवल गर्न समेत सत्तारुढ दलहरूले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो–तेहोरो चरित्र देखाइरहेको पनि दोहो¥याए ।
उनले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरूलाई क्रान्तिकारी भन्न नमिल्ने बताउनु भयो । अध्यक्ष ओलीले भने, ‘हिजो मैले देखे तीन÷चार सय मान्छे सडकमा छन । २ हजार, २५ सय पुलिस छ । ढाल बोकेर पुलिस छेकिएर बसेको छ । अगाडिबाट ढुंगो हानेका छन । १५ जनाले ढुंगो हान्छ । डेढ सय पुलिस लुकेर बस्छ । किनभने लाठी चलाउने उसलाई आदेश छैन । टियरग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैन । पुलिसहरू घाइते भएका छन । मैले आज बिहान गृहमन्त्रीजीलाई भने–तपाईं पुलिस सडकमा किन पठाउनु हुन्छ ? सत्ताधारी गुटले, शासकहरूले नै, सत्ताधारीहरूले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन । बाटाहरू कत्रो दुःखका साथ खर्चका साथ बनाइएका छन । ती बाटा भत्काइएको छ । तपाईहरूले देख्नु भएको होला–बाटो भत्काएको । सरकारमा हुने क्रान्तिकारीहरू । बाटो बनाउनुपर्ने ठाउँमा बाटोको बजेट काटने, निर्माणको बजेट काट्ने अनि बाटा भत्काउने । कोही छैन यो देशमा नभत्काउ भन्ने । कस्तो सरकार हो त्यो ? बाटा भत्काएका छन् ड्याङड्याङ्ती । नभत्काऊ भन्ने कोही छैन । अनि ढुंगो हानेका छन । इँटा हानेका छन । तोडफोड गरेका छन । नगर भन्ने कोही छैन ।
प्रहरी छ । कुटाइ खाएर भागेको छ । तपाईँहरूले टिभी खोलेर हेनुुस्–लाईभ फोटाहरू हेर्नु भो भने थाहा पाउनु हुन्छ । २५ जना मान्छेले ढुंगा हान्या छ । डेढसय पुलिस भागेको छ । अब लाठी चार्ज गर्ने अधिकार पनि छैन । हात भाँचियो, उता टाउँको फुटिसक्यो, के गर्नु ? अनि भाग्नु परेन । अनि एकथरीले प्रहरी पठाउँछ सडकमा । केही पनि नगर्नू भनेर । यहाँ भत्काईराखेका छन, हजुर, भत्काउन देऊ । ढुंगो हानिराखेको छ, हान्न देऊ । मैले गृहमन्त्रीलाई सोधेँ–के आदेश थियो, काँचो ढुंगा मात्रै हान्न दिने आदेश थियो ? इँटामात्रै हान्न पाउने आदेश थियो ? के–के आदेश थियो ? उहाँहरू देशप्रति जिम्मेवारी भईराख्नु भएको छैन । सरकारमा बस्ने, तमासा गर्ने, एमसीसी पास गर्न षडयन्त्र गर्ने, टेवल गर्न षडयन्त्र गर्ने, आएर आफू चुप लागेर मूर्तिझैं बस्ने । अर्को पछाडिकोलाई नारा लगाऊ, नारा लगाऊ भन्ने । यताको उठ उठ भन्ने उताको बसबस भन्ने । एकथरीलाई सडकमा जाऊ भन्ने, अर्कोलाई सदनमा आऊ भन्ने ।
सरकारमा पनि आफै हुने, सदनमा पनि आफै हुने, सडकमा पनि आफै हुने । एमसीसी आफै सही गर्ने, आफै टेवल गर्ने, सही गर्नेलाई, टेवल गर्नेलाई सडकमा उत्रिएकाहरूले कतै केही बोलेको तपाईहरूले सुन्नु भएको छ ? केही भन्दैनन् । केही पनि भन्दैनन् । एमसीसी सिक्नेचर गर्नेलाई केही पनि भन्दैनन् । आज विहान म सुन्दैथिए–आज बिहान म सुन्दैथिए एउटा ग्यालेक्सी भन्ने टेलिभिजन रहेछ । सरकार यस्तो छ । आज जनताको छोराछोरीहरू प्रहरी हिजो किन पिटिए त्यसरी ? मैले गृहमन्त्री सोधेँ । कति जना प्रहरी घाइते छन ? प्रहरीको टाउँकोमा ढुंगो हानिदिए हुन्छ ड्याङड्याङती ? यस्तो पनि हुन्छ ? अनि लखेटिनुपर्ने, भाग्नुपर्ने, कुटाई खानुपर्ने, भत्काउँदै छन, केही भन्न नपाउने, गिरफ्तार गर्न नपाईने, भत्काएको कुनै मुद्धा नलाग्ने, चार्ज नलाग्ने, क–कसलाई लाग्ने ? यो सत्तासिन गुटको दोहोरो तेहेरो अनेक प्रकारको गलत नीति हामी यस्तो अलमलिनु हुँदैन । म सबै दाजुभाई दिदीबहिनीहरूलाई भन्नु चाहन्छु–हामी शान्तिको पक्षमा, देश विकासको पक्षमा, राष्ट्रिय एकताको पक्षमा, हाम्रा पूर्वजहरूले देखाएको वीरताको तर सही बाटोमा, हामी जेलनेल खाएर लोकतन्त्र ल्याउने अनि अहिले आएर बाटो भत्काएर क्रान्तिकारी हुने ? अनेरास्ववियू क्रान्तिकारी रे । बाटो भत्काएर क्रान्तिकारी ? यो क्रान्तिकारिता क्रान्तिकारी होईन । अव सत्तामा बसेका छन, सरकारमा बसेका छन र जे गरेपनि भाको छ । सञ्चार माध्याम उनीहरूको छ । हामी हाम्रो ईतिहासको गौरवलाई मर्न दिँदैनौं ।’
त्यस अवसरमा अध्यक्ष ओलीले काजी कालु पाँडेजस्ता पूर्वजहरूले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरूको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताउनु भयो ।
उहाँले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहेपनि कीर्तिपुरमाथिको आक्रमणको क्रममा गल्ती गरेको दावी गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘सत्यहरू प्रकट भएको छ । पूर्वजहरूको वीर गाथालाई स्मरण मात्रै होईन, सम्मान पनि गरेका छौं । म सबै कवि, कवयित्री साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । काल पाँडेका जीवनी एउटा अनुशरणीय, असाधारण बहादुरीको कीर्ति हो । बुद्धि र विश्लेषणको, युद्ध कौशलको, रणनीतिको यी कुराहरू पनि, पृथ्वीनारायण शाहले स्विकार गरेको भए, ढिपी नगरेको भए काँलु पाँडको ज्यान पनि जाँदैन थियो । कीर्तिपुर पनि सहजै जितिने थियो । एकपल्ट हराई सकेर अर्को पल्ट आफूलाई हराउँदाखेरी नाक काटेका कुराहरू पनि आयो । तर वास्तवमा नाक काटेको होईन । ईतिहास तोडमोड गर्ने प्रयासहरू पनि हुन्छन । देवत्वकरणको प्रयास हुन्छन । दानवीकरणका प्रयास चल्छन । अनेक प्रयासहरू चल्छ । पृथ्वीनारायण शाह महान थिए । एकता एकीकरणको नेतृत्व गरेका हुन । त्यो ठीक कुरा हो । तर पृथ्वीनारायण शाह गल्ती नै गर्दैन थिए भन्ने पनि होइन ।’
अध्यक्ष ओलीले इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरू प्रतिबद्ध भएर लागिपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्