माओवादी केन्द्रले एमसीसीको विपक्षमा मत हाल्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । एमसीसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए । उनले भने,‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ। सरकारमा नरहने भनेर पाार्टीले नीतिगत निर्णय लिईसकेको छ। अब दिनको मात्रै कुरा हो ।नेकपा (माओवादी केन्द्र) मा दोहोरो चरित्र देखाउँदैन । राष्ट्रिय स्वाधिनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसीसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ ।’
साक्षात्कारमा बोल्दै उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे । आफूहरूले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको सुनाए । उनले भने,‘यो सदनमा लैजानुपर्ने आवश्यकत्ता छैन भनेर आफ्नो राय दियौं । संशोधन र परिमार्जनको बाटोमा लैजान पाएको भए हुन्थ्यो । सरकारले संसद्बाट फाईनल होस भनेको थियो । प्रतिपक्षीले अवरोध गरेको बेलामा टेबुल गर्न हुँदैन भनेर हामीले भनेका थियौं । प्रक्रियालाई फलो गर्ने कुरा त हुन्छ नि, यो सम्झौता राष्ट्रियहित प्रतिकुल भएकोले यसलाई स्विकार गर्न सक्दैनौं । सदनले पनि यसलाई अस्विकार गर्नुपर्छ ।’
एमसीसीको बारेमा विगत कालदेखि नै आफूहरूले विरोध जनाएको उनको भनाई छ । उनले भने,‘यो सम्झौता जुन परिवेशमा भयो, यो राष्ट्रिय हितअनुकुल भएन । राष्ट्रिय स्वार्थलाई प्रतिकुल बनाउने प्रावधान राखिएका छन् । यो सम्झौता संशोधन गरेर राष्ट्रिय हितअनुकुल बनाईएमात्रै अघि बढाउन सकिन्छ भनेर तत्कालिन नेकपा कालमा भनेका थियौं । झलनाथ खनालनेतृत्वको कार्यदलले प्रतिवेदन बनाएको थियो । एमसीसी सारमा यो आईपिएसको अंग हो भनेर अमेरिकी अधिकारीले पनि भनेका छन् । एमसीसीलाई स्विकार गर्ने कुरा हुँदैन् । आर्थिक परियोजनाको रुपमा परिणत गर्न तयारु हुने कि नहुने ? यो मुख्य कुरा हो ।’
उनले आर्थिक सहायता सम्झौता सरकारले टुँगो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रुपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगिकार गर्न सकिने पनि उल्लेख गरे । उनले भने,‘एमसीसी सम्झौता गर्दा यो सदनमा लगेर कानून बनाउने कुरा भएको थिएन । केपीओली सरकारको पालामा कानून मन्त्रालयको सिफारिशमा सदनमा लैजाने कुरा भएको हो ।’
एमसीसी सम्झौतामा एमसीसीको झण्डामा प्लेन वा गाडी आएपनि कुनै चेकजाँच गर्न पनि नपाउने र के सामान ल्यायो ? के लग्यो ? भनेर चेक गर्न नपाउनेखालका प्रावधान राखिँदा नेपालको सार्वभौम अधिकार पनि खण्डित हुने गुरुङको भनाई छ । उनले भने,‘यो सम्झौतामा नेपालको सार्वभौम अधिकार खण्डित भएको छ । त्यसो भएकोले यो संविधानविपरित भएको छ। यो सम्झौता खतरानक छ । अरू आर्थिक सहायता सम्झौताको मोडेलमालैजाने हो भने हामी ओपेन छौं । आर्थिक सहायताको नाममा सार्वभौम अधिकार नै खण्डित गर्न पाईँदैन्, सम्झौतामा भएका विवादस्पद विषय संशोधन गरेर जानुपर्छ ।’
सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको बताएका छन् । उनले भने,‘उहाँहरूले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाई सक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ ।’
एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको गौतमको टिप्पणी छ । उनले भने, ‘उहाँहरू सरकारमा पनि हुनुहुन्छ । क्याविनेटमा झण्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होइन् ।’
उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुँदापनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । उनले भने,‘त्यसो हो भने उहाँहरू सबै राष्ट्रघाती हुन नि त । हिजो एमसीसी टेबुल भयो । एमसीसीको कारण मत विभाजन भएको छ। हामीपनि चिन्ता गरिरहेका छौं । राजनीतिक दलहरूले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्ट रूपमा बोल्नुपर्ने हो । नेकपा एकीकृत समाजवादीले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्वेद्ध चरित्र देखियो । मुलुकले निकास पाउनको लागि राम्रो तवरले जानुपर्छ । सदनमा एमसीसीबारे छलफल हुन्छ । यो सदनको कुरा हो । पास हुन्छ कि फेल हुन्छ, त्यो अब सदनमा थाहा हुन्छ । तर, हामीलाई विश्वास छ–यो पास हुन्छ ।’
उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे । उनले भने,‘एमसीसी पास गराउने कुरामा एमालेसँग हामी विश्वस्त छौं । उ सकारात्मक रुपमा आउँछ । एमसीसी पास गर्छ । एमसीसी पास गर्ने कुरा यो त कलंकको टिका होइन, यो समृद्धिको रातो टीका हो ।’
नेता गौतमले एमसीसी धेरै गिजोलिएको गुनासो पोखे । उनले भने, ‘साथीहरूले एमसीसीलाई धेरै गिजोलिदिए । एमसीसीको अन्तरवस्तुबारे जनतालाई स्पष्ट पार्नुपथ्र्याे । एमसीसी त नेपालको हितमा छ । यसले नेपाललाई भलो गर्छ । पूर्वाधार विकास र प्रशारण लाइनको विकास हुन्छ । एमसीसीको कन्सेष्ट २००४ मा आयो। नेपालले सन् २०१७ मा सम्झौता गरेको छ । यो त नेपाल सरकारले मागेको हो । अमेरिकाले थोपरेको कुरा होईन । यो ऋण पनि होईन । यो अनुदान नेपालले मागेको हो । माधव नेपालको पालामा सुरु भएको हो । यसलाई अघि बढाउनको लागि माधव नेपालले पनि काम गरे । त्यसपछि झलनाथले काम गर्नुभएको छ । भरतमोहनजी अर्थमन्त्री हुँदा एमसीसीको लागि कुरा गर्न जानुभएको छ। बाबुरामको पालामा थ्रेस होल्ड एक्सेप्ट भयो । खिलराज, प्रचण्ड, सुशिल, केपी ओली सबैले काम गर्नुभयो । टोटल व्युरोक्रेसी संलग्न छ । प्रशासनिक संयन्त्र संलग्न भएका छन् । सन् २०१७ मा कांग्रेसका नेतृत्वमा सम्झौता भयो ।’
गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा पनि कांग्रेस यसको पक्षमा उभिएको स्मरण गराए । उनले भने,‘हामी द्धेद्ध मनस्थितिमा छैनौं। नेपाललाई अन्र्राष्ट्रिय शक्तिको क्रिडास्थल बनाउन खोजियो । नेपालका कम्युनिष्ट पार्टीको भूमिका देखेर दुःखी छौं ।’
उनले अहिलेको पाँच दलीय गठबन्धन आवश्यकत्ताले बनेको पनि उल्लेख गरे । उनले भने, ‘हामी प्रतिपक्षीमा हुँदा पनि रचनात्मक भूमिका खेल्यौं । कम्युनिष्ट सरकारलाई सफल भएको हेर्न चाहेका थियौं । दुई तिहाई बहुमतको सरकार त बन्यो नि भनेर खुशी थियौं । ओली सरकार अधिनायक बाटोमा जान थाल्यो, संवैधानिक प्रावधान कुल्चिन थाल्यो । ओलीले आफ्नो घर नै बचाउन सक्नुभएन । प्रचण्ड, माधव नपालले सबै मिलेर देउवालाई प्रधानमन्त्री बनिदिनुहोस भनेर आग्रह गर्नुभएको थियो । हाम्रो सभापति देउवाजी प्रधानमन्त्री बन्न लालायित हुनुहुन्थेन ।’
सांसद मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भएपनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता नहुने जिकिर गरे । उनले एमसीसीमा मतदान हुने दिन आफ्नो पार्टीका सांसदहरूले बहिष्कार पनि नगर्ने र तटस्थ पनि नबस्ने भन्दै विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।
उनले भने,‘अहिले एमसीसी सदनमा टेबुल भयो । हामी किन यसको विरोधमा छौं भन्ने कुरा धेरै पहिलेदेखि नै भनेका छौं । हामी त जनताको हितमा कुरा गर्छौं । जनतामा एमसीसीविरुद्धको मनौवैज्ञानिक छ । यो संवैधानिक हिसाबले बेठिक छ। यो एमसीसी किन सदनमा टेबुल गरियो ? यो गलत छ । यसमा अमेरिकाको नियत नै बेठिक छ । एमसीसी आईपिएसकोपार्ट हो भनेर अमेरिकी अधिकारीहरूले भनेका छन, यो भनेपछि यो सुरक्षासँग जोडिएको छ । अमेरिकन अधिकारीहरूले पनि पटक–पटक एमसीसी आईपिएसको पार्ट हो भनेर भनेका छन् ।’
अब एकीकृतसमाजवादीले एमसीसीको पक्षमा मतदान गर्छ कि के गर्छ ? भनेर सोधिएको प्रश्नमा चौधरीले भने–‘यहीपोजिसनमा एमसीसी लागु हुन दिन्नौं । पास गर्दैनौं । यो कुरा हामीले जनताले सुन्नेर बुझनेगरि भनिसकेका छौं । अनि संसदमा हामी बहिष्कार र न्यूट्रल पनि बस्दैनौं । विपक्षमा मतदान गर्छौं । गठबन्धनको कुरा के हुन्छ ? त्यो मतलव होइन । साझा न्यूनतम कार्यक्रममा पनि यो एमसीसी परेको थिएन । गठबन्धन त आवश्यकत्ताको उपज हो । यो गठबन्धन नबनाएको भए मुलुककमो संवैधानिनक प्रणाली रहने थिएन ।
उनले एमसीसीको सवालमा सांसदहरूलाई ह्वीप लगाउन नहुने पनि धारणा राखे । उनले भने–‘पार्टीले भन्दैमा सांसदले ल्याप्चे हान्ने कुरा बेठिक हो। एमसीसीबारे मतदानमा सांसदहरूलाई फ्रि छोड्नुपर्छ । हामी छलफलमा भाग लिन्छौं । १६ गते विपक्षमा भोट हाल्छौं । हाम्रो पार्टीका सबै सांसदहरू भोटिङको दिन संसद् बैठकमा आउनुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी ग्रो गर्न भूमिका निर्वाह गरेकोले आज विपक्षमा उभिने कुरा गलत भएको टिप्पणी गरे ।