प्रचारप्रसार नहुँदा ओझेलमा इन्द्रेणी झरना

तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै आएको छ ।
धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेपनि प्रचारप्रसारको अभावमा गुमनाम झैं रहेको छ । प्रदेश १ को पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्वारको रुपमा रहेको बसन्तपुर बजारदेखी करिब आधा घण्टाको पैदल दुरी तथा मोटरसाइकलमा दश मिनेटको यात्रामा पुगिने यो झरना संरक्षणमा ध्यान नदिँदा गुमनाम झै बनेको हो ।
स्थानीय, प्रदेश र संघीय सरकारले आँखा नपुगेको यो झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रचार र संरक्षणको अभाव रहेको महालक्ष्मी–१ धनकुटाका विकास गुरुङले बताए । “झरनालाई संरक्षण गर्दै सरकारको ध्यानकर्षण गर्न सकियो भने पर्यटकीय गतिविधि बढ्न सक्छन्” उनी भन्छन्, “झरनालाई पर्यटकीय गन्तव्य बनाउने हो भने पर्यटकको आगमनले यहाँको आर्थिक गतिविधिसमेत बढ्ने थियो ।”
कच्ची सडक छेउ जंगलको बिचमा रहेको यो झरना संरक्षणमा स्थानीयले चासो देखाउन थालेका छन् । झरना तीन जिल्लाको सिमाना रहेकोले तेह्रथुम, धनकुटा र संखुवासभाले संंरक्षणमा ध्यान नदिएको लालिगुराँस नगरपालिका २ तेह्रथुमका गोपाल भुजेलले बताए । “झरना संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा पर्छ, स्थानीय सरकारले चासो दिएकोछैन । अरु जिल्लाले त झन् ध्यान दिने कुरै भएन । त्यसैले सफल पर्यटकीय गन्तव्य बनाउन नसक्दाम ओझेलमा परेको छ” भुजलेले भने ।
प्राकृतिक रुपमा रहेको झरना घाम लागेको बेला इन्द्रेणी देखिने भएकाले यो झरनाको नाम इन्द्रेणी झरना राखिएको महालक्ष्मी नगरपालिका १ धनकुटाका कृष्ण गुरुङले बताए । कच्ची सडक झरनाको छेउसम्म पुगेपनि झरना संरक्षणको अभाव रहेको बसन्तपुरका मनिष श्रेष्ठले बताए ।