Logo

गेटवे पेमेन्ट सर्भिस र एनपीसीआई इन्टरनेसनलबीच सम्झौता

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकबीचमा अन्तरआवद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था हुने जनाइएको छ ।
साथै यस सेवाको सुरुवातसँगै भारतीयहरू नेपाल आउँदा क्यू–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरूले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने पनि जनाइएको छ । प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवाहरू सुचारु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरू पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने कम्पनीले जनाएको छ ।
सम्झौतामा गेटवे पेमेन्ट सर्भिसका अध्यक्ष कमलनाथ प्रधान र भारतमा भुक्तानीको सन्जाल युनीफाईड पेमेन्ट इन्टरफेसले सञ्चालन गरिरहेको एनपीसीआई इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्