Logo

चुनौतीका चाङबीच धितोपत्र बोर्डमा नयाँ नेतृत्व

सरकारले चार महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । उनले आइतबारदेखि आफ्नो काम–कारबाही सुरु गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । तीन दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका हमालले संयुक्त राष्ट्रसंघको वातावरणीय प्रोजेक्ट तथा ब्रिटिस इन्भेस्टमेन्ट कन्सल्टेन्सी एन्ड रियलस्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको अनुभव छ ।
पूर्वगैरआवासीय नेपाली पनि रहेका उनले एनआरएनए थाइल्यान्डका पूर्वअध्यक्षका रूपमा काम गरिसकेका छन् । विदेशका सेयर बजारको ज्ञान र अनुभव भएका हमाल पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रूपमा परिचित छन् । उनले नेपाल विद्युत् प्राधिकरणमा पनि काम गरेका थिए ।
बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई छानबिन समितिको सुझावमा सरकारले बर्खास्त गरेको थियो । अहिले सोही पदमा हमाल नियुक्त भएका हुन् । तर, चार महिनादेखि रित्त रहेको पद बहाली गरेका हमाललाई विभिन्न चुनौती भने अवश्य देखा पर्नेछ । पुँजी बजारमा पछिल्लो समय विभिन्न समस्या देखिएका छन् । लगानीकर्ताहरू आकर्षित भएको पुँजी बजारलाई व्यवस्थित र विकास गर्न नयाँ नेतृत्वले केके सुधार गर्न सक्छन् भन्ने विषयमा कारोबारकर्मी सुमित सुवेदीले मर्चेन्ट बैंकरहरूसँग गरेको कुराकानीको सार :

पुँजी बजारमा अन्य क्षेत्रलाई भित्र्याउन बोर्डले कदम चाल्नु पर्छ
विजयलाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, सनराइज क्यापिटल

नेपालमा हेर्ने हो भने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युतलगायत केही सीमित क्षेत्रबाहेक अन्य क्षेत्रहरू पुँजी बजारमा आबद्ध भएको पाइँदैन । तर, संसारका अन्य देशमा हेर्ने हो भने धेरैजसो कम्पनीले पुँजी बजारबाट नै पुँजी उठाएको देखिन्छ ।
पुँजी बजारमा अन्य सेक्टरहरूलाई पनि भिœयाउनका लागि बोर्डले कदम चाल्नुपर्ने देखिएको छ । त्यसका लागि अहिले कम्पनीहरू किन आउन मानिरहेका छैनन् भन्ने कुरा महत्वपूर्ण रहन्छ । कम्पनीहरूले आफूले चाहेको मूल्य नपाएका कारण नै उनीहरू पुँजी बजारमा नजोडिएको अवस्था हो । अहिलेसम्मको अवस्थामा प्राथमिक सेयर खोल्दा सय रुपैयाँभन्दा बढी प्रतिसेयर रकम उठाउन पाइँदैन । त्यसलाई बुकबिल्डिङमार्फत आफ्नो कम्पनीको मूल्यबमोजिम सेयर जारी गर्न पाउने व्यवस्था लागू हुने हो भने धेरैभन्दा धेरै कम्पनी सेयर बजारमा आउने देखिन्छ ।
अहिले पुँजी बजार विकास हुँदै गरेको अवस्थामा छ । अर्थात् पूर्ण रूपमा विकास भइसकेको अवस्था छैन । रियल सेक्टरका कम्पनीहरूलाई पुँजी बजारमा ल्याउनका लागि बुक बिल्डिङको नियम आए पनि अहिले अड्किरहेको छ । त्यसलाई सहज रूपमा अगाडि बढाउने हो भने अन्य क्षेत्रलाई पनि सहज रूपमा पुँजी बजारमा तान्न सकिन्छ ।
त्यस्तै अहिले ‘स्पेसलाइज इन्भेस्टमेन्ट फन्ड’ नियमावली बनेको छ । तर, लागू भइसकेको अवस्था छैन । यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । प्राइभेट इक्युटी तथा भेन्चर क्यापिटलको लाइसेन्स दिने भन्ने कुरा त्यतै हराएको हुँदा अहिलेको नयाँ नेतृत्वले त्यसमा काम गर्नेछ भन्ने लागेको छ ।
पछिल्लो समय सेयर बजारमा निकै धेरै मानिस जोडिएका छन् । त्यस कारणले पनि बजार पहिलेको भन्दा निकै बढेको छ । तर बजारको पहुँच र क्षेत्र बढेसँगै बजार तलमाथि गयो भन्ने गरेको पनि गुनासो सुनिन्छ । बजार तलमाथि जानु सामान्य कुरा हो । यो तलमाथि गएन भने मानिसहरूको आकर्षण पनि हुने थिएन । अब कुरा रह्यो, लगानीकर्तामा कसरी परिपक्वता ल्याउने भन्ने ? त्यसका लागि पनि अध्ययन गरेर उनीहरूलाई आवश्यक पर्ने ज्ञान दिन सकियो भने त्यसले केही परिपक्वता ल्याउँछ कि भन्ने लाग्छ । कुन समयमा लगानी गर्ने ? त्यसको रिटर्न कहिले आउँछ ? कस्तो कम्पनीमा लगानी गर्नुपर्छ भन्ने कुरा सिकाउन सकियो भने त्यसले पुँजी बजारमा दिगोपन ल्याउँछ र थप मानिसको आकर्षण बढ्छ । त्यसको असरले थप कम्पनीहरू पनि पुँजी बजारमा आबद्ध हुन रुचाउँछन् ।

पूर्ण डिजिटलाइजमा ध्यान दिनुपर्छ
झनकराज ढुंगेल
प्रमुख कार्यकारी अधिकृत, सिभिल क्यापिटल

अहिले सेयर बजार पनि डिजिटलाइज भएको छ । विगत केही समयदेखि पुँजी बजारका कामहरू अनलाइनमार्फत नै भइरहेका छन् । कारोबारहरू पनि अनलाइनकै माध्यमबाट भइरहेको छ । तर, जुन तहमा डिजिटलाइज हुनुपर्ने हो, त्यसको सेवा जुन तहमा विस्तार हुनुपर्ने हो, त्यो भएको छैन । एपहरूको गुणस्तरमा पनि समय–समयमा समस्या हुने गरेको छ ।
पुँजी बजारसँग सम्बन्धित भएका हामीहरूलाई त टीएमएसमा आईडी बनाउन दुई दिन लाग्छ भने अन्य नजानेका मानिसहरूले ठूलो सास्ती भोग्नुपरेको अवस्था छ । उनीहरूले तीन दिनमा पनि गर्न सक्दैनन् ।
विभिन्न अनुसन्धानहरू हेर्ने हो भने नेपालको आईटी क्षेत्र भारतको भन्दा पनि राम्रो मानिन्छ । तर पनि त्यसको कार्यान्वयन गर्ने पक्षमा भने हामीहरू केही कमजोर देखिएका छौं । त्यो चिजलाई अहिलेको नेतृत्वले ध्यान दिनुहुन्छ भन्ने लागेको छ ।
पहिला स्टक एक्सचेन्जमा यति ठूलो कारोबार हुने थिएन । अहिलेको अवस्थामा हेर्ने हो भने धेरै मानिस यसमा जोडिएका छन् । त्यसै कारणले ग्राहकहरूले राम्रोसँग कारोबार गर्न ब्रोकरहरू पाएको अवस्था छैन । ५० वटा ब्रोकर छन् तर पनि उनीहरूले राम्रोसँग सेवा नपाएको गुनासो गरिरहेका छन् । हिजो दुई लाख लगानीकर्ता थिए भने आज २० लाखभन्दा माथि टीएमएस लिने भइसकेका छन् ।
आज २५ लाखभन्दा माथिले हरेक सेयरका लागि निवेदन दिने गरेका छन् । त्यसैले गर्दा एउटा नेप्सेले मात्र नथेगेर अर्को नेप्से पनि आवश्यक पर्ने हो कि जस्तो पनि देखिएको छ । अहिले जुनसुकै क्षेत्र संघीयताको मर्मअनुसार चलिरहेको हुँदा नेप्सेको विषयमा पनि सोच्नुपर्ने हुन सक्छ । स्टक एक्सचेन्ज सधैं सहर केन्द्रित हुन सक्दैन । त्यस्तै चार–पाँच वर्षदेखि ब्रोकर थप्ने कि बैंकलाई ब्रोकर दिने भन्ने आवाजहरू पनि उठिरहेका छन् । सेयर बजारको भाउ तलमाथि हुनु भनेको कुरा स्वाभाविक हो । तर, लगानीकर्ताले त्यहाँबाट सुविधा पाउनुपर्छ । आज इलाङचुङगोलादेखि हुम्ला–जुम्लासम्मका मानिसले घरमै बसेर पुँजी बजारमा लगानी गर्न सक्ने वातावरण बन्दैन भने पुँजी बजारको विकास भएको मान्न सकिँदैन । अहिले केही निश्चित मानिसले सेयरमा कारोबार गर्दा २२ सय करोड रुपैयाँ पुगेको बजार आज चार सय करोडमा झरेको छ । दुई–तीन महिनामा बजार त्यहाँबाट यहाँसम्म आउनु भनेको सहर केन्द्रित कारोबारका कारणले नै हो ।
निश्चित मानिसहरूले कारोबार गरेका कारणले कारोबार घटेको छ । २० लाखले एक हजारकै दरले कारोबार गर्दा पनि त्यहाँ त ठूलो कारोबार हुनुपर्ने हो । त्यस कारण नीति निर्माणको तहमा बस्ने मानिसहरूले यो कुरालाई मध्यनजर गर्नुपर्छ । पुँजी बजार सुधार गर्छु भन्नुभन्दा पनि सुधार गरेर देखाउनुपर्छ । आज ७७ जिल्लामा मोबाइल फोनको सुविधा छ, इन्टरनेटको सुविधा छ । हाम्रो पुँजी बजारको सुविधा पनि बाटोघाटो र इन्टरनेटजस्तै जुनसुकै ठाउँका मानिसले उपभोग गर्न पाउनुप¥यो ।
अहिले पुँजी बजारमा केही कुराको अत्यावश्यक माग छ भने त्यो चेतना हो । सहरमा बसेका मानिसहरूलाई सेयरको बारेमा केही थाहा भए पनि गाउँगाउँमा त यो कुन चराको नाम हो भनेजस्तो छ । तीन दशक यो बजारमा बसेर हेर्दा सबै कुरा सहर केन्द्रित भएको देखिन्छ । गाउँको दूरदराजमा शिक्षा गएको छ, तर पुँजी बजारको चेतना पुगेको छैन । अर्थात् सरकारका कामहरू सहर केन्द्रित हुनु भएन । गाउँगाउँमा पनि पुग्नुपर्छ ।

चार महिनासम्म रोकिएका काम सुचारु हुनुपर्छ
रामेन्द्र रायमाझी
प्रमुख कार्यकारी अधिकृत, एनआईसी एसिया क्यापिटल

धितोपत्र बोर्डको अध्यक्ष हुनुभएकोमा रमेश हमालज्यूलाई मेरो र मेरो कम्पनीका तर्फबाट बधाई छ । उहाँका केही विचार पत्रपत्रिकामार्फत सुन्दा नियामक निकायलाई नियामक निकायकै रूपमा रहने गरी काम गरेर जान्छु भनेको सुनियो । त्यस्तै रिटेल इन्भेस्टरको हित संरक्षण गर्छु भन्ने खालको कुरा गर्नुभएको छ । अहिले बजारको अपेक्षा पनि त्यही नै हो ।
हामीहरूले सरसर्ती हेर्दा यो चार महिनाको अवधिमा धेरै काम बाँकी रहेको देखिन्छ । थुप्रै कम्पनीले आईपीओका लागि निवेदन दिएका छन् । म्युचुअल फन्डहरूको केसमा पनि नयाँ आईपीओका लागि आवेदन गरेर बस्नेहरूको संख्या निकै ठूलो छ । पहिलो कुरा त नेतृत्वले बाँकी रहेका र सुचारु हुन नसकेका कामहरूलाई सुचारु गराउनुपर्छ । बुक बिल्डिङको पनि ‘बुक बिल्डिङ गाइडलाइन’ ल्याइएको थियो । त्यसमा केही कमी–कमजोरी छन् भने त्यसलाई रिभ्यु गर्नुपर्छ । हैन भने गाइडलाइनअनुसार बजारमा फ्लोट गर्नेतर्फ पनि पाइला चाल्नुपर्ने देखिन्छ । अन्य कमजोरी भए नियामकीय निकायले सुधार गरि नै हाल्छ । हामी मर्चेन्ट बैंकरहरूले पनि सुझाव दिइ नै रहेका छौं । ती सुझावहरू कार्यान्वयन हुन्छन् भन्ने लागेको छ । अर्को मर्चोन्ट बैंकर एसोसिएसनका तर्फबाट पनि साथ–सहयोग दिने नै छौं । अहिले चार महिनासम्म जेजस्ता कुराहरू सुचारु हुन सकेका छैनन्, त्यसलाई सुचारु गर्ने अर्को प्राथमिकताका आधारमा आएका समस्याहरूलाई समाधान गर्नेतर्फ समय खर्च गर्नु राम्रो होला ।
अब प्रविधिको क्षेत्रमा हेर्ने हो भने पनि समय बित्दै गएपछि त्यसमा विकासको गुञ्जायस हुन्छ नै । प्रविधि भनेको सधैं एउटै भइराख्छ भन्ने कुरा पनि भएन । तर, अहिले जसरी मानिसहरूको पहुँच बढेर गइरहेको छ, त्यसअनुसारको शिक्षा नभइरहेको हो कि भन्ने लाग्ने हो । यस प्रकारका सुझावहरूमा हामीहरूले पनि समय–समयमा र हामी आफंै पनि सहभागी भएर ‘यसरी जान सक्छांै भनेर धितोपत्र बोर्डसँग पनि धेरै पटक छलफल गरिसकेका छौं । त्यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । यसै क्रममा मार्चमा ‘मनि मार्केट विक’ भनेर एउटा कार्यक्रम गर्ने भन्ने कुराहरू पनि सुनिएको छ ।
अहिले हेर्ने हो भने पुँजी बजारमा राम्रो विकास भएको देखिन्छ । केही समयसम्म लाइन बसेर सेयर किन्नुपथ्र्यो भने अहिले २७÷२८ लाखको आईपीओ सजिलै भरेको देखिन्छ । बजारको पक्षमा पनि टीएमएसहरू चलिरहेका छन् । अनलाइनबाट खरिद–बिक्री गर्न सकिने, बैंकमा आफैं रकम पास भएर जाने जस्ता कुरा विकास भएका छन् । तर, विकासको गुन्जायस सधंै हुन्छ । अहिले पनि विकास नभएको अवस्थामा छैन । केही न केही विकास भइरहेकै छ । यसलाई थप सुधार गर्दै अगाडि जानुपर्छ ।

नीतिगत कमी–कमजोरीलाई सुधार गर्नुपर्छ
पारसमणि ढकाल
प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आईएमई क्यापिटल

नयाँ अध्यक्ष भर्खरै कार्यभार सम्हाल्दै हुनुहुन्छ । केही समय त नयाँ नेतृत्वलाई त्यहाँभित्रको प्रक्रिया बुझ्न नै समय लाग्न सक्छ । त्यसपछि सेवनमा धेरै कुरा परिवर्तन गर्नुपर्ने छन् । अहिले पुँजी बजारमा २ सय १० को हाराहारीमा मात्र कम्पनीहरू लिस्टिङ भएका छन् । नयाँ कम्पनीहरूलाई कसरी आकर्षण गर्ने भन्ने कुरा नै प्राथमिकतामा हुर्नुपर्छ जस्तो लाग्छ । विभिन्न क्षेत्रका नयाँ कम्पनीहरू आउँदा मानिसहरूलाई धेरै विकल्प रहन्छन् । अहिले २ सय १० कम्पनी रहँदा नयाँ होस् वा पुरानो, बजार बुझेको होस् वा नबुझेको— सबैले तिनै कम्पनीहरूमा सेयर लगानी गर्नुपर्ने बाध्यता छ अर्थात् विकल्प हुँदैन । त्यसैले नयाँ कम्पनीहरूलाई कसरी–कसरी छिराउने ? छिराउँदा त्यसमा भइरहेको नीतिगत समस्यालाई कसरी सुधार गर्न सकिन्छ ? अहिले साना–साना कम्पनीहरू त आउँछन् तर त्यसलाई सबैभन्दा सस्तो तरिकाले कसरी छिराउन सकिन्छ भन्ने कुरा पनि सोच्नुपर्ने हुन्छ । पहिला एसएमई लिस्टिङ गराउने भन्ने कुरा थियो । त्यस्तोमा जोड दिन पाइयो भने धेरै प्रकारका कम्पनीहरूलाई फाइदा पु¥याउने देखिन्छ । अहिले नीतिगत रूपमा रहेका कमी–कमजोरीहरूलाई सुधार गर्नुपर्ने छ । त्यसमा फोकस गर्न सकिन्छ ।
मर्चेन्ट बैंकहरूमा ‘एभिन्युज’हरू एकदमै सीमित छन् । टीएमएसमा पनि इक्युटीमा मात्र हाल्न पाइने । म्युचुअल फन्डमा पनि इक्युटीमा मात्र हाल्न पाइने । भोलि बजार घटेको समयमा बेच्नका लागि हाम्रो कुनै विकल्प नै हुँदैन । डेरिभेटिभजस्ता वित्तीय साधनहरू उपभोग गर्न पाइयो भने घट्दो बजारमा पनि अवसरहरू लिन सकिन्छ । आजको दिनमा सबैभन्दा ठूलो समस्या तरलताको हो । लोन लिन आफ्नो सम्पत्ति धितो राख्छु भन्दा पनि कर्जा नपाएको अवस्था छ । विदेशमा हेरियो भने ‘एनबीएफसी’ भनेर धेरै चलेको देखिन्छ, जहाँ प्रोजेक्टका आधारमा लगानी गरिएको हुन्छ । यी सबै कुरा सेवनको मातहतमा रहेका कुरा हुन् । यसमा हामीहरूलाई खोल्दिन सक्ने हो भने प्रोजेक्टका आधारमा लोन दिन सक्छौं । ठूला नभएर साना–साना कम्पनीहरूलाई अगाडि बढ्न प्रोत्साहन हुन्छ ।
प्राइभेट इक्युटी भेन्चर क्यापिटलको फ्रेमवर्कमा नै समस्या छ । त्यसमा आवश्यक सुधार गरेर नयाँ लाइसेन्सहरू दिन सकियो भने त्यसले, मैले सेयर बजारलाई मात्र भनिनँ, पूरै पुँजी बजार र त्यससँग सम्बन्धित उद्योगहरूलाई नै प्रभाव पर्छ ।
नेपालमा डिस्काउन्ट ब्रोकेज भन्ने धारणा आइसकेको छैन । हामीले सधैं ब्रोकरको कमिसन घटाउनुप¥यो । ब्रोकरको लाइसेन्स धेरै व्यक्तिहरूलाई दिनुपर्छ भन्ने कुरा आइरहेको सुनिन्छ । एउटा डिस्काउन्ट ब्रोकेज खोल्ने हो भने उनीहरूले जतिसक्दो कमिसन घटाउँछन् । बजार पारदर्शी हुन्छ ।
त्यसैले पुँजी बजारमा धेरै कुरा परिवर्तन गर्न बाँकी छन्, सम्बन्धित स्टकहोल्डर हामीलगायत मिडियाहरूलाई साथसाथ लगियो भने पुँजी बजारमा सुधार आउँछ । हामीले त्यो अपेक्षा पनि गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्